नेपाली सर्ट फिल्म 'लोरी'ले कान्स फिल्म फेस्टिभलमा 'स्पेशल मेन्सन 'अवार्ड जितेको छ।
नेपालबाट पहिलो पटक छनोट भएको फिल्मले कान्समा अवार्ड जितेर इतिहास रचेको छ।
सर्ट फिल्म विधामा पाम डी अरका लागि प्रतिस्पर्धामा रहेको फिल्मले जुरीबाट 'स्पेशल मेन्सन' अवार्ड प्राप्त गरेको हो। अवार्ड लिन स्टेजमा निर्देशक अविनाश शाह पुगेका थिए।
एक सय ४० देशका ३५ सय फिल्म मध्येबाट 'लोरी' उत्कृष्ट ९ मा पर्न सफल भएको थियो। शाहको फिल्मले आठ देशको फिल्मसँग प्रतिस्पर्धा गरेकाे थियाे।
१४ मिनेट लामो फिल्मले नेपालको पित्तृसत्तात्मक समाजको विषयवस्तुलाई उठान गरेको छ। फिल्ममा बालविवाहको कथालाई प्रस्तुत गरिएको छ।
अविनाश शाहले निर्देशन गरेको फिल्ममा अंकिता यादव, प्रीति झा र सरिता शाहको अभिनय रहेको छ।
शनिबार साँझ सकिएको कान्सको ७५ औँ संस्करणमा सर्ट फिल्मतर्फको पाम डी अर चिनियाँ फिल्म ‘दि वाटर मरमर्स’ले जितेको थियो।
‘लोरी’बाहेक अविनाशको अर्को फिल्म ‘एलिफेन्ट इन दि फग’ पनि कान्सको मेन्टरशीप कार्यक्रममा छनोट भएको थियो। अन्डरग्राउन्ड टाकिजले निर्माण गर्ने यो फिल्मले ट्रान्सजेन्डरको कथा देखाउने छ।