जौन योञ्जनको निर्देशनमा बन्न लागेको फिल्म 'आँखा' औपचारिक घोषणा भएको छ।
काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। फिल्म सामाजिक कथामा बन्ने बताइएको छ।
निर्देशक योञ्जनकै कथा, पटकथा रहने फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशीको मुख्य भूमिका रहनेछ।
कार्यक्रममा बोल्दै निर्देशक योञ्जनले ‘आँखा’ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देखाउने बताए। नेपाली फिल्ममा हराउँदै गएको पर्फमिङ आर्टलाई यो फिल्मले फर्काउने विश्वास उनको छ।
निशाले पहिलो भेटमै स्कृप्ट चित्त बुझेपछि यो फिल्म गर्न तयार भएको बताइन्।
अर्की अभिनेत्री अस्मिता लामिछानेले ‘१२ सत्ताइस’, ‘म राजेश हमाल’ देखि ‘आँखा’सम्म विश्वास गरेर आफूलाई स्थान दिएकोमा निर्माण टोलीलाई धन्यवाद दिँदै भनिन्, ‘मैले यो फिल्मबाट अनुभवी कलाकारहरूबाट सिकेर अवसर पाउने छु भन्ने आशा छ।’
इटालीमा फिल्म अध्ययन गरेर नेपाल फर्केका कलाकार आरके मेहताले आफ्नो अध्ययन कुशलतालाई पर्दामा ल्याउँदा दर्शकलाई भिन्न स्वाद दिने र निराश नबनाउने बताए।
आकोश शुक्लाले छायांकन गर्ने फिल्ममा संगीत दिपक आरजेको रहनेछ भने द्वन्द्व रेवन्तविक्रम थापाको रहनेछ। सन्तोष मल्ल मुख्य सहायक निर्देशक रहने फिल्ममा ध्रुव कार्की, अम्बिका नेपाली र सञ्जय भाल सहायक निर्देशकमा छन्।
आगामी वर्ष प्रदर्शन गर्ने तयारी रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।