एफक्यूब सिनेमा हलले फिल्म ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ।
चाबहिलस्थित केएल टावरमा रहेकाे एफक्यूब सिनेमा हलमा मध्यान्न १२ देखि फिल्मको प्रदर्शन रोकिएको हो।
एफक्यूबका व्यवस्थापक रामहरी कोरालाका अनुसार कबड्डी ४ शो धमाधम रोकिएको छ। ‘हामीले १२ बजेको शो रोकेका थियौँ। अहिले फिल्मको अरु शो पनि धमाधम रोकिरहेको छ। स्थिति सामान्य नभएसम्म कबड्डी ४ चल्दैन,’ उनले भने।
अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावरअगाडि विरोध प्रदर्शन भइरहेको छ। बाहिर विरोध प्रदर्शन भएपछि मध्यान्न १२ बजेदेखि फिल्मको शो रोकिएको हो।
मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध केही युवाले प्रदर्शन गरेका हुन्।
कबड्डी ४ फिल्मको प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका- २ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो।
अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्।
प्रदर्शनमा उत्रिएका युवाहरूले पक्राउ परेका व्यक्ति तामाङ भिक्षु भएको र उनले अभद्र व्यवहार नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। ती युवाहरूले अभिनेत्री मगरले माफी माग्नुपर्ने र भिक्षुलाई निःसर्त रिहा गर्नुपर्ने माग राखेका छन्।
प्रदर्शनको क्रममा उनीहरूले कबड्डी ४ को पोष्टर समेत जलाएका थिए।