अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा एक युवालाई पक्राउ गरेपछि विवाद चर्किंदै गएको छ।
हाल प्रहरीले उक्त युवालाई रिहा गरिसकेको छ। तर सबै हल बन्द गर्नुपर्छ भन्दै चाबहिलस्थित केएल टावर र चलचित्र विकास बोर्डमा विरोध प्रदर्शन भइरहेको छ।
बोर्डका अध्यक्ष दयाराम दाहालले विवादबारे दुवै पक्षबीच छलफल भइरहेको बताएका छन्।
'अहिले दुवै पक्षबीच छलफल भइरहेको छ तर सबै हल बन्द भएको छैन,' उनले भने।
आज बिहान केएल टावरअगाडि विरोध प्रदर्शन भएपछि केएल टावरको एफक्यूबमा भने मध्यान्ह १२ बजेदेखि फिल्मको शो रोकिएको छ।
अपरान्ह ४ बजेतिर नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा 'कबड्डी ४' को शोज नदेखाएपछि अरू हल पनि बन्द भएको चर्चा थियो। तर क्यूएफएक्सकी व्यवस्थापक रानु विष्टले सर्भर डाउन भएको जानकारी दिइन्।
कबड्डी ४ फिल्मको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले मुगुको मुगूम कार्मारोङ गाउँपालिका- २ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई पक्राउ गरेको थियो।
अभद्र व्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङमाथि थप्पड हानेकी थिइन्।