हाँस्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ ले निर्देशन गरेको कार्यक्रम ‘कमेडी हब’ को प्रसारण सुरू भएको छ। आज बुधबार पहिलो भाग प्रसारण भएसँगै कार्यक्रम सुरू भएको हो।
कमेडी हब एपी१ च्यानलमा ८ बजे राति प्रसारण भएको हो। युट्युबमा भने राति ९ बजे 'मिडिया हब अफिसियल च्यानल' मार्फत् सार्वजनिक भएको छ। यो हरेक बुधबार प्रसारण हुनेछ।
यो कार्यक्रम गत सातादेखि नै प्रसारण हुने भनिएको थियो। कार्यक्रमका परिकल्पनाकार राजा राजेन्द्र पौखरेलका अनुसार प्राविधिक समस्याका कारणले प्रसारण रोकिएको थियो।
कार्यक्रमा केदार घिमिरे माग्ने बुढा पात्रकै रूपमा देखिएका छन्। उनीबाहेक कार्यक्रममा राजा राजेन्द्र, कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरू खड्गबहादुर पुन मगर (खबपु), चन्चल मगर, सुबोध गौतम, प्रभात लामा, दिलिप तामाङ (हुर्हुर), बेदना राई, सिता न्यौपाने, जानुका पौड्याल (प्याकुली), राधिका कँडेल, दिपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली (लट्टे), कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडी कला प्रस्तुत गर्ने छन्।
कार्यक्रममा 'प्योर', 'ह्युमर', 'रोमान्टिक', 'स्ट्यान्ड अप', 'सटायरिक' र 'प्यारोडी' गरी कमेडीका ६ शैली प्रस्तुत गरिने बताइएको छ। यसको विषयवस्तु निर्देशन केदार घिमिरे र प्राविधिक निर्देशन जनकदीप पराजुलीले गरिरहेका छन्।