फिल्मकर्मीलाई हरितारा चलचित्र पुरस्कार, दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, चेतन कार्की स्मृति पुरस्कार र परिवतर्नन नेपाल सम्मान प्रदान गरिएको छ।
परिवर्तन नेपालले बुधबार आयोजना गरेकाे कार्यक्रममा फिल्मकर्मीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
नेपाली फिल्मकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेत्री रेजिना उप्रेती, सम्पादक तथा निर्देशक रक्षा सिंह राणा, सञ्चारकर्मी तथा निर्देशक सम्झना उप्रेती रौनियार, स्वर्गीय चेतन कार्कीकी धर्मपत्नी गंगा कार्की लगायतलाई पुरस्कार र सम्मान वितरण गरिएको हो।
उक्त पुरस्कार तथा सम्मान मोहन निरौलाकी दिदी सावित्री कोइरालाले वितरण गरेकी हुन्।
अभिनेत्री मिथिला शर्मा र सञ्चारकर्मी विदुर गिरीलाई जनही २५ हजार रुपैयाँको थैलीसहित हरितारा चलचित्र पुरस्कार तथा सम्मानपत्र प्रदान गरिएको थियो।
विसं २०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो फिल्म पुरस्कार मानिन्छ। स्वर्गीय विजय राणाले स्थापना गरेको उक्त पुरस्कारको संरक्षक र अध्यक्ष मनोज शम्सेर जबरा र सदस्य सचिवमा फिल्मकर्मी मोहन निरौला हुन्।
कार्यक्रममा दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार फिल्मकर्मी मनोज केसी र अभिनेता विनोद श्रेष्ठलाई जनही १० हजार थैली सहितको सम्मानपत्र र चेतन कार्की स्मृति पुरस्कार अभिनेता तथा निर्देशक देशभक्त खनाललाई ११ हजार १ सय ११ रुपैयाँ सहितको सम्मानपत्र प्रदान गरिएको थियो।
उक्त कार्यक्रममा नेपाल चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान प्रदान गरिएको थियो। फिल्मकर्मी निर्देशक मदन घिमिरे र ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह र श्रीदेव भट्टराईलाई परिवर्तन नेपाल विशेष सम्मान प्रदान गरियो।
अभिनेत्री शारदा गिरी, निर्देशक जनकराज खकुरेल र देवेन्द्र पाण्डे, मोडल तथ अभिनेत्री दिपाशा विसी, खेलाडी तथा कलाकार नन्दा बस्याल, रङ्गकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई परिवर्तन सम्मान प्रदान गरिएको थियो। उपरोक्त पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो।