बक्सअफिसमा असफल भएको फिल्म ‘डाँडाको बरपीपल’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ।
हलमा दर्शकको साथ पाउन नसकेको फिल्मले युट्युबमा भने राम्रो प्रतिक्रिया पाएको छ। यो समाचार तयार पार्दा १६ लाख ६८ हजार भ्यूज पाएको छ भने २३ सयभन्दा बढी कमेन्ट पाएको छ।
दर्शकहरूले अभिनेता सलोन बस्नेत र रुविना थापाको अभिनयको तारिफ गरेका छन्। बुढासुब्बा डिजिटलले पहिलो पटक आफ्नै लगानीमा फिल्म निर्माण गरेको थियो।
शोभित बस्नेतले निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, सुइन्जा सुनाम लगायत कलाकारको अभिनय छ। नवराज गिरीको लगानी रहेको फिल्मलाई सुशान्त प्रजापतिले खिचेका हुन्।
‘डाँडाको बरपीपल’ले युट्युबमा राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिमले ‘डाँडाको बरपीपल २’ बन्ने घोषणा गरेका छन्।