मौलिक कथावस्तुमा फिल्म बनाउन माहिर निर्देशकको रुपमा परिचित छन् दिपेन्द्र के खनाल।
उनले 'धर्मा, चपली हाईट, भिजिलान्ते, भोले, पशुपति प्रसाद, चपली हाईट २, लभ लभ लभ, धनपति, आमा' लगायतका फिल्म निर्देशन गरिसकेका छन्। यीमध्ये ‘पशुपति प्रसाद’ र ‘आमा’ ले उनलाई थप उचाइमा पुर्याउन सहयोग गरेको थियो।
उनै निर्देशक खनालको फिल्म ‘चिसो मान्छे’ असार ३ गतेदेखि प्रदर्शन हुँदैछ। काठमाडौंदेखि बाजुरासम्म चिसो मान्छे अर्थात मृत्यु भएको व्यक्तिसँगको यात्रालाई फिल्ममा समेटिएको छ।
बुधबार पत्रकार भेटघाट कार्यक्रममा निर्देशक खनालले ट्राभल सम्बन्धी फिल्म बनाउने सोच पहिलादेखि नै भएको बताए। उनी फिल्मको कथा यसरी नै फुर्याे भन्ने सक्दैनन्। तर कोभिडको समयमा उनलाई फिल्मको कथा पूरा गर्ने अवसर जुर्यो।
कोभिडको बेलामा कतारदेखि लिएर विभिन्न देशमा गएका नेपालीहरूको लास रोकियो। उक्त कुराले उनको मनमा छोयो। त्यसैलाई फिल्ममा परिणत गर्ने सोच बनाए। त्यसपछि फिल्मको स्क्रिप्ट तयार पार्न तिर लागे।
फिल्मको कथा तयार भएपछि फिल्मको छायांकन कता गर्ने भन्दा उनले काठमाडौंदेखि बाजुरासम्मको दूरी रोजे। ‘फिल्ममा सुदूरपश्चिमको कथा कमै समेटिन्छ। मेरो यो फिल्म सुदूरपश्चममै छायांकन गर्नुपर्छ भन्ने थिएन। तर फिल्ममा लामो दूरी देखाउनु थियो। काठमाडौंदेखि बाजुरासम्म पुग्न तीन दिन दुई रात लाग्ने रहेछ। त्यसैले बाजुरामै फिल्मको छायांकन गर्ने तय भयो,’ उनले भने।
निर्माण टिमलाई कोभिड नलाग्योस् भन्ने कामना गर्दै उनी फिल्मको छायांकनमा निस्किए। कोभिडको समय भएको हुँदा स्थानीयबासीहरू त्रासित भएका थिए। उनीहरूलाई हरेक गाउँ छिर्दा कोभिड ल्याएको छ कि भन्ने नजरले हेरिन्थ्यो। त्यसको झलक फिल्ममा पनि देखिने निर्देशक खनाल बताउँछन्।
उनले ट्राभल स्टोरीमा काम गर्दा आफ्नो कला खुलेर राख्न पाएको बताए।
‘प्रायः मेरा फिल्म इन्डोरमा छायांकन भएको छ। ‘आमा’ कै कुरा गर्ने हो भने कतिले उकुसमुकस भयो भन्ने प्रतिक्रिया दिनु भएको थियो। चिसो मान्छेमा ट्राभल स्टोरी भएको हुँदा मैले खुल्ला भएर काम गर्ने मौका पाएको छु,’ उनले भने।
फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ। निर्देशक खनाल फिल्मका कलाकारहरूसँग काम गर्न सहज भएको बताउँछन्।
उनले चिसो मान्छे अहिलेसम्म कै विशेष हुने बताउँदै भने, ‘म हरेक फिल्ममा आफूलाई सुधार्ने प्रयास गर्छु, यो फिल्ममा मेरो प्रयास राम्रो भएको छ जस्तो लाग्छ।’
केही दिनअगाडि फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर सार्वजनिक भएपछि दर्शकहरूले फिल्मको कहानी पुरै ट्रेलरमा आएको गुनासो पोखेका छन्। तर निर्देशक खनालले फिल्म हेर्दा छुट्टै कथा पाउने बताए।
‘ट्रेलरमा देखाएको भन्दा फिल्म धेरै फरक छ। फिल्म कसरी भनिएको छ र काठमाडौंबाट बाजुरासम्म पुग्दा तीन जना पात्रहरूको सम्बन्ध कस्तो हुन्छ भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ,’ उनले भने।
कोरोना संक्रमणको बेला आफू बाँच्नुपर्छ भन्दै चिसो बनेको समाजको यर्थाथलाई फिल्ममा समावेश गरेको उनले बताए।