म चितवनमा नेपाली फिचर फिल्म 'ग्रीन वर्ड' को छायांकनमा थिएँ। शान्ति गिरी दिदीले फोन गर्नुभयो। उहाँ पहिले अभिनेत्री हुनुहुन्थ्यो, अहिले बाहिरको फिल्मको कास्टिङको काम हेर्नुहुन्छ।
उहाँले मलाई 'एउटा फिल्मको कुरा आएको छ, अडिसन दिन मिल्छ कि मिल्दैन' भनेर सोध्नुभयो।
'हुन्छ' भनेर मैले भर्चुअल माध्यमबाट अडिसन दिएँ। त्यति बेला कोरोना महामारी चलिरहेको थियो। हामीले जूमबाटै कुराकानी गर्यौं।
ग्रीन वर्डको सुटिङ सक्नेबित्तिकै जूम मिटिङमा आउँदा अलि तनाव थियो। प्रत्यक्ष भेटेर कुरा गर्दा आत्मविश्वास आउँछ। जूममा कुरा गर्दा भने म कस्तो देखिरहेको छु होला, प्रत्यक्ष भेट्दा जस्तो हुन्छ कि हुँदैन भन्ने धुकचुक भइरहन्थ्यो।
पहिलो मिटिङमा दुई जनामध्ये एक निर्देशक सारलेकसँग आधा घन्टा कुराकानी भयो। त्यति बेला मैले कसैलाई आफ्नो परिचय दिइरहेको महसुस भयो। उहाँहरूले व्यक्तित्व नियाल्नु हुँदो रहेछ।
दोस्रो मिटिङमा अरू दुई जना निर्माता र निर्देशकसँग कुरा भयो। तेस्रो मिटिङमा भने फिल्मका अभिनेतासँग कुरा भयो। उहाँले उताबाट डाइलग भन्ने, मैले यताबाट डाइलग भन्ने भयो।
यसरी लगभग ६/७ वटा जूम मिटिङमा मैले अडिसन दिएँ।
उहाँहरूले 'हामी पछि खबर गर्छौं' भन्नुभयो। हुन्छ कि हुँदैन थाहा थिएन। तर विदेशी फिल्मका लागि अडिसन दिँदा कस्तो हुँदो रहेछ भन्ने अनुभव त भयो भनेर चित्त बुझाएकी थिएँ।
दुई-चार दिनपछि भने उहाँहरूले भिडिओ कल गर्नुभयो र 'तपाईंलाई हाम्रो टिममा लिन चाहन्छौं, सेड्युल के छ' भनेर सोध्नुभयो।
यो सुन्दा म शब्दहीन भएँ।
यसरी 'द एट माउन्टेन्स' फिल्ममा म जोडिएँ। यो फिल्म पाओलो काग्नेट्टीको उपन्यासमा आधारित फिल्म हो। यो दुई केटाहरूको सम्बन्धको यात्रा हो। त्यस किताबमा एउटा महिला पात्रको बारेमा पनि लेखिएको रहेछ। लेखकले एक्लै यात्रा गर्ने एक महिलालाई भेटेका रहेछन्। तिनै महिलाको भूमिका मैले निर्वाह गर्ने कुरा भयो।
भूमिकाबारे सुन्दा मलाई रमाइलो लाग्यो। सानो भए पनि विशेष र शक्तिशाली भूमिका छ। फिल्ममा मेरो नाम आश्मी छ। आश्मीले घुम्न रूचाउने नेपाली महिलाहरूको प्रतिनिधित्व गर्छिन्।
कथाअनुसार मुख्य पात्र नेपाल घुम्न आउँदा उनीहरूको भेट हुन्छ। उनीहरू दुई जनाबीच मित्रता र प्रेम सम्बन्ध भएको देखाइन्छ।
फिल्म छायांकन गर्दा मेरो धेरै दृश्य खिच्नुभएको थियो। त्यसमध्ये उत्कृष्ट ५ दृश्य फिल्ममा छ। यो फिल्मको छायांकन भएको एक वर्ष भइसक्यो। यो फिल्म कान्समा छनोट भएको छ भनेर मैले समाचारमा पढेर थाहा पाएकी थिएँ। तर म निश्चित थिइनँ। टिमसँग पनि सम्पर्कमा थिइनँ।
एकदिन निर्देशकले फोन गर्नुभयो र भन्नुभयो, 'सुरक्षा, एट माउन्टेन्स कान्समा प्रिमियर हुँदैछ, तिम्रो योजना के छ, आउँछौ?'
मनमनै यस्तो अफर आउँदा किन नजानु भन्ने लागेको थियो। तर मैले म निर्णय लिएर भन्छु भनेँ।
कान्स जान हरेक अभिनेत्रीको भित्रभित्र इच्छा हुन्छ। नेपालमा चाहिँ कति कुरा भाग्यमा पनि भर पर्छ। कोही आफ्नो देशमा राम्रो कलाकार हो भनेर प्रचलित हुँदा हुँदै पनि राम्रा अवसर नपाएर पिछडिएका हुन्छन्।
विभिन्न स्रोतले फिल्मसँग पुर्याउने काम गर्छन्। त्यो स्रोतसँग पहुँच नहुँदा र कतिपय ठाउँमा आफ्नो मान्छेलाई च्याप्ने प्रवृत्तिले पछि परिन्छ। मलाई म पनि कान्समा पुग्न सक्ने हैसियत राख्छु भन्ने थियो, तर त्यस्तो फिल्म जुरेको थिएन।
कान्सको निमन्त्रणा आएपछि म भाग्यमानी रहेछु भन्ने ठानेँ। तर नेपाली फिल्मलाई प्रतिनिधित्व गरेर जान नपाउँदा खल्लो पनि भयो। फ्रेन्च फिल्मको प्रतिनिधित्व गरेर जाँदा म नेपाली फिल्मको अभिनेत्री हो भनेर बुझाउनु पर्थ्यो। त्यहाँ कति अवसरहरू मैले खोसेर लिनुपर्ने हुन्छ। रातो कार्पेटमा पनि दस मिनेटको समय दिइन्छ। त्यहाँ टिमसँगै फोटो खिचाउनुपर्छ। आफू झल्काउन चुनौती नै थियो।
कान्सका लागि तयारी गर्दा पनि निमन्त्रणा आएपछि भिसा लाग्न १५/२० दिन लाग्छ भन्दा म हतोत्साहित भएकी थिएँ। कान्समा जानै पाइनँ भने पनि भिसाका केकस्ता प्रक्रिया रहेछ भनेर थाहा पाउँछु भनेर तयारी सुरू गरेँ। भिसा समयमै आयो। भिसा नआउँदासम्म मैले टिकट बुक पनि गरेको थिइनँ। त्यसपछि मैले टिकट बुक गरेँ, बैंक स्टेमेन्ट बनाएँ।
कान्समा जान लामो प्रक्रिया छ। उहाँहरूले बस्ने व्यवस्था मिलाइदिनुभयो। बाँकी खर्च भने सबै आफैंले व्यवस्था गरेँ। छोटो समय भएको हुँदा दौडधुप बढी भयो। रातो कार्पेटमा लगाउने ड्रेस व्यवस्था गरेकै थिइनँ। सुदिप्ता अधिकारी दिदीले तेन्जिङ छेतेन भुटिया दाइसँग भेटाइदिनुभयो। तेन्जिन दाइले निकै मेहनत गरेर एक रातमै ड्रेस तयार पारिदिनुभयो।
यो पनि पढ्नुहोस्ः सुरक्षा पन्तले कान्सको रेड कार्पेटमा लगाएको पहिरन आकर्षक १५ को सूचीमा
कान्स मेरो कल्पनामा मात्र थियो, त्यसैले रातो कार्पेटमा हिँड्दा मलाई नयाँ मान्छेजस्तो महसुस भइरहेको थियो। मैले त्यहाँ महत्वाकांक्षी भएर नेपाल प्रतिनिधित्व गर्छु भनेर सोचिनँ। जुन फिल्मको टिमसँग गएकी थिएँ, त्यहीअनुसार चल्छु भन्ने थियो। तर ड्रेसले गर्दा राम्रो 'इम्प्रेसन' पर्यो।
म कान्सको यात्रालाई अनुभव गरिरहेकी थिएँ। रातो कार्पेटमा हिँड्न ५ देखि १० मिनेट समय दिइन्छ। त्यसमा एक्लै फोटोसुट गर्न पाइँदैन, टिमसँगै गर्नुपर्ने रहेछ।
त्यहाँबाट हामी सिनेमा हलमा प्रवेश गर्यौं। द एट माउन्टेन्स फिल्ममा मैले अंग्रेजीमा बोलेकी छु। तर फिल्ममा केही शब्द नेपाली पनि प्रयोग भएको छ। फिल्ममा नेपाली शब्द 'बुढाबुढी' सुन्दा म निकै प्रफुल्लित भएँ। विदेशमा, विदेशी फिल्ममा, त्यति ठूलो स्क्रिनमा नेपाली भाषा सुन्दा मलाई साह्रै खुसी लाग्यो।
कान्समा फिल्म प्रिमियर भइसकेपछि फिल्मका बारेमा छलफल हुने र डिनर कार्यक्रम थियो। त्यो सबै योजनाबद्ध हुने रहेछ।
कान्समा मेरो यात्रा एक हप्ताको रह्यो। दुई दिन भने फिल्मको टिमसँगै बिताएँ।
म नेपालबाट एक्लै गएको भएर धेरै मान्छेलाई भेट्न पाइनँ। नेपालबाट छोटो फिल्म 'लोरी' को टिम पनि जानुभएको थियो। उहाँहरूले मलाई कोसँग भेट्ने भनेर केही सुझाव दिनुभयो। अनि केही निर्देशकहरूसँग भने भेट्ने मौका पाएँ।
त्यहीँ मैले अचानक चर्चित कोरियाली सिरिज 'स्क्विड गेम' का मुख्य अभिनेता ली जङ-जेलाई देखेँ। उहाँलाई भेटेपछि फोटो नखिची हुँदैन जस्तो लाग्यो। अनि मैले त्यो पललाई क्यामरामा कैद गरेँ।
म एक्लै भए पनि मलाई म मात्रै छुजस्तो भएन। पूरै नेपाल गइरहेको छजस्तो लागिरहेको थियो। मलाई नेपाल नै प्रतिनिधित्व गरेजस्तो आभाष भएको थियो।
द एट माउन्टेन्स फिल्ममा पनि नेपालका धेरै दृश्य देखाइएको छ। नेपालीहरू कति हँसमुख हुन्छन् भनेर देखाइएको छ। त्यसैले यसका बारेमा कुराकानी हुन्छ भन्ने लागेको थियो। भयो पनि। मान्छेहरूले कहाँ हो यो भनेर सोध्दा निकै खुसी लाग्यो।
अर्को कुरा कान्समा नेपालमा फिल्म बन्छ भन्ने धेरैलाई थाहै रहेनछ। मलाई पनि भारतबाट आएको भन्ठान्नुभएको थियो धेरैले। बलिउड र नेपाली फिल्ममै धेरै दुबिधा रहेछ। नेपाली फिल्म के हो, कस्तो हुन्छ भनेर चिनाउन नसकेको आभाष भयो। त्यसैले हामीले हाम्रो मौलिक कथा भन्न सकेका रहेनछौं भन्ने महसुस भयो।
नेपाललाई चिनाउने हिमाल र संस्कृतिले हो। तर नेपालीहरूको भावनालाई राम्रोसँग देखाइएको छैन। नेपालीहरूको दुःख, खुसी, वेदना देखाइएको छैन। हामी सानो पोखरीमा सीमित भएर फिल्म बनाइरहेका छौं र त्यही हाम्रो संसार हो भन्ने मानसिकताले गस्रित छौं भन्ने लागेको छ।
अहिले डिजिटल प्लेटर्फममा फिल्म हेर्न पाउने समयमा हामीले नेपालीहरूको भावनालाई राम्रोसँग देखाउन सक्यौं भने सबै दर्शक आकर्षित गर्न सक्छौं। त्यस्तो फिल्म बनाउन चुकेका रहेछौं भन्ने मलाई लागेको छ।
कान्समा जाँदा दर्शकले मप्रति जुन माया देखाउनुभयो, त्यसले मलाई जिम्मेवारी र कर्तव्यबोध गराएको छ। तर नेपाली कलाकार वा फिल्म कुनै फेस्टिभलमा जाँदा केही सुविधा छैन। यदि कोही कान्स वा अन्य फेस्टिभलमा जाँदैछ भने उसलाई कसरी प्रस्तुत हुने भन्ने मात्र चिन्ता होस् न! अरू व्यवस्थापन गर्ने दौडधुप नहोस्। यस विषयमा चलचित्र विकास बोर्डको ध्यानाकर्षण होस् भन्ने चाहन्छु। आगामी दिनमा मैलेजस्तो आर्थिक, टिकट र अन्य कुरा मिलाउन हम्मे पर्ने जस्ता समस्या नआओस्।
(अभिनेत्री सुरक्षा पन्तले सेतोपाटीका लागि संगीता गिरीसँग गरेको कुराकानीमा आधारित।)
भिडिओ- निशा भण्डारी र सुसन चौधरी