राजबहादुर साने निर्देशित फिल्म ‘सिल्ली फो’ आगामी असार ३१ गतेबाट प्रदर्शनमा आउँदैछ।
फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा आइतबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम राखिएको थियो। कार्यक्रममा फिल्मकी अभिनेत्री केकी अधिकारी, राजाराम पौडेल र रविन्द्र झालगायत कलाकार उपस्थित थिए।
कमेडी जनरामा निर्माण गरिएको फिल्ममा केकी अधिकारी एक मात्रै मुख्य महिलाको भूमिकामा छिन्। फिल्ममा उनले अभिनय क्षेत्रमा संघर्ष गरिरहेकी एक युवतीको भूमिका निर्वाह गरेकी छन्। केकीले यस फिल्ममा अभिनय गर्दा आफूले आफ्नो संघर्षका दिन सम्झिएको बताइन्।
‘फिल्ममा मैले निर्वाह गरेको चरित्र संघर्ष गरिरहेकी एक युवतीको हो। पात्रको संघर्षले मलाई सुरुआतको दिनहरू याद दिलायो। हामीले भोगिरहेको र देखिरहेकै कुरा भएकाले फिल्ममा अभिनय गर्न धेरथोर सहज पनि भयो,’ उनले भनिन्।
निर्देशक सानेले ‘सिल्ली फो’बाट आफूले धेरै कुरा सिक्ने मौका पाएको बताए। ‘मैले कमेडी जनरामा पहिलो पटक हात हालेको हुँ। फिल्मले मलाई कमेडी जनरामा स्थापित गर्नेछ भन्नेमा विश्वस्त छु। यो फिल्म नेपाली समाजभित्रको वास्तविक कथा हो। यो कुनै पनि विदेशी फिल्मबाट प्रभावित छैन,’ उनले भने।
राजाराम पौडेल र रविन्द्र झाले फिल्म राम्रो बनेको दाबी गरे। फिल्ममा धिरेन शाक्य, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल, रेजिना थापा, राज गौतम, अम्बरबहादुर विष्ट, सौजन बोहोरा, जयमन विश्वकर्मा, सरस्वती रम्जाली मगरलगायतको अभिनय छ।
मनोज डिके निर्माता रहेको फिल्मका सह-निर्माता विशाल श्रेष्ठ हुन्। नरेन्द्र आलेले छायांकन गरेको फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेको छन्।