र्याप गायक जी-बबको नामले चर्चित सुदिप भण्डारी र उनको परिवारबीच तीन बुँदे सहमति भएको छ।
सोमबार उनीहरूबीच तीन बुँदे सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
जी-बब उनका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल भएको थियो।
त्यस छलफलपछि तीन बुँदामा सहमति भएको हो।
सहमतिमा जी-बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा राख्ने उल्लेख छ। त्यसमा उनलाई पनि अन्य व्यक्तिसरह नै राखिने सहमति भएको हो।
दोस्रो बुँदामा केही समयको लागि जी-बबले चाहेको समयमा आमा-बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने उल्लेख छ।
तेस्रो बुँदामा भने कुनै पनि प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा-बुवाको सहमति लिनुपर्ने उल्लेख गरिएको छ।