कर्णालीमा असार १० गतेदेखि चलचित्र कार्यशाला गर्न लागिएको छ।
केबी इन्टरटेन्मेन्ट ग्रुप प्रालिले असार १० देखि १७ गतेसम्म चलचित्र कार्यशाला गर्न लागेको हो।
कार्यशाला सुर्खेतको वीरेन्द्रनगरमा हुनेछ।
चलचित्र बोर्डको सहयोगमा गरिने कार्यशालामा फिल्म निर्माण, निर्देशन, स्क्रिप्ट लेखन, छायांकन, अभिनय लगायतका विषयमा सिकाइने छ।
कर्णाली प्रदेशका प्रत्येक जिल्लाबाट २ जनालाई कार्यशालामा सहभागी गराइने केबी इन्टरटेन्मेन्टका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिए।
कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउन, दक्ष चलचित्रकर्मी उत्पादनमा कार्यशाला महत्वपूर्ण हुने उनले बताए।
कार्यशालामा सहभागी हुनका लागि २ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ।
कार्यशालामा शिवम् अधिकारी, दयाराम दाहाल, निर शाह लगायतका फिल्म निर्माता तथा कलाकारहरू प्रशिक्षकका रूपमा सहभागी हुने भएका छन्।
कार्यशाला सकिएपछि सहभागीहरूलाई सर्ट मूभी वा डकुमेन्ट्री निर्माण गर्न लगाइने आयोजक संस्थाले जनाएको छ।