चर्चित फेन्चाइज शो 'सुपर डान्सर नेपाल'को फिजिकल अडिसन सकिएको छ।
इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा अडिसन भएसँगै 'सुपर डान्सर नेपाल'को फिजिकल अडिसन सकिएको हो।
काठमाडौंको अडिसनमा आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक रहेको बताए।
'काठमाडौंको अडिसनमा तीन सय प्रतिस्पर्धीले सहभागीता जनाएका थिए। सुपर डान्सरको क्रेज काठमाडौंमा राम्रो देखियो,' म्यानेजर रश्मी अग्रवालले बताइन्।
अडिसनमा छनोट भएका प्रतिस्पर्धीहरूको प्रस्तुती प्रदर्शन हुन बाँकी छ। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शोको पहिलो चरण सकिएसँगै अब प्रसारणको तयारी सुरु भएको छ।
बुधबारदेखि डिजिटल अडिसन सुरु गरेको अग्रवालले जानकारी दिइन्। ‘छुटेका र थाहा नपाएका प्रतिभाहरूलाई अवसर दिने उद्देश्यले डिजिटल अडिसन पनि राखेका हौँ,’ उनले भनिन्।
डिजिटल अडिसनमा भाग लिन एकदेखि डेढ मिनेटसम्मको डान्स भिडिओ सुपर डान्सर नेपालको जिमेलमा पठाउन सकिने छ। फिजिकल अडिसन दिएका प्रतिस्पर्धीले डिजिटल अडिसन दिने पाउने छैनन्। असार १ गतेदेखि सुरु भएकाे डिजिटल अडिसन असार ७ गतेसम्म हुनेछ।