नेपाली कथानक चलचित्र 'चिसो मान्छे' आजदेखि रिलिज भएको छ।
स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य अभिनय रहेको फिल्म 'चिसो मान्छे' आजदेखि प्रदर्शनमा आएको हो।
कर्णाली आसपासको कथा बोकेको यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। उनले यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए।
फिल्म सार्वजनिकपछि सिने पत्रकारहरूसँग कुरा गर्दै नायिका स्वस्तिमा खड्काले फिल्म चल्नेमा विश्वस्त रहेको बताइन्।
उनले फिल्मले नेपालीहरूको वास्तविक कथा बोकेको र गाउँले परिवेशमा रहेकोले पनि राम्रो रहेको प्रतिक्रिया दिइन्।
नायिका खड्काले फिल्ममा कुनै अवार्ड पाउने भन्ने मनशायले अभिनय नगरेको बरू अभिनयलाई सुधार्दै गएको बताइन्।
त्यस्तै, नायक अर्पण थापाले कोरोना कालको लकडाउनभन्दा अघि मानिसहरूमा मर्छु भन्ने चिसोपन त्यत्ति नभएको तर त्यसपछिका दिनमा सबै चाहिने रहेछ भन्ने अनुभूति भएको पाइएको बताए।
दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ आजदेखि एकसाथ नेपाल, अमेरिका र माल्टामा प्रदर्शनमा आएको हो।
यो फिल्म यस साता रिलिज एक मात्र फिल्म पनि हो।
कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्ममा चित्रण गरेको पाइन्छ।
फिल्ममा कोरोना संक्रमणको त्रास, पूर्वमाओवादी लडाकु वैदेशिक रोजगारीमा पुगेपछि हृदयघातले हुने मृत्यु र शवलाई घरसम्म लैजान भएको सास्तीलाई फिल्ममा उतारिएको छ।
सुदूरपश्चिममा हुने बालविवाह र लकडाउनले आम मानिसमा पारेको आर्थिक असरका आयामलाई समेत फिल्ममा स्थान दिइएको छ।