‘समास फाउण्डेसन’को आयोजनामा संयुक्त राज्य अमेरिका र क्यानडाका दुई सहरमा मिस्टिक ‘इकोज २’ आयोजना हुने भएको छ।
न्युयोर्कको बफलोमा जुलाई २ र ओन्टारियोको विन्डसरमा अगष्ट १३ मा मिस्टिक ‘इकोज २’ कार्यक्रम हुन लागेको हो। समास फाउण्डेसनले २०१९ मा नेपालीभाषी तथा नेपाली मूलका समुदायको कला-संस्कृति फैलाउने उद्देश्यले कार्यक्रम सुरु गरेको थियो।
कोरोना महामारीका कारण तीन वर्षपछि आयोजना हुन लागेको कार्यक्रममा १२ सय दर्शक सिट क्षमता रहेको छ। यसमा नेपाली तथा अन्य देशका गरी ३५ जना कलाकारले प्रस्तुति दिनेछन् जसमा ललीतकला, संगीत तथा कविता मिश्रण रहनेछ।
'यो कार्यक्रम समस्त नेपालीभाषीको प्रतिनिधित्व गर्ने कार्यक्रम हो। तर सँगै फरक फरक अनुभव भएका आप्रवासीहरूको भावना पनि समेट्ने कार्यक्रम हो,' आयोजक लमिन तामाङले भने, 'यहाँ भुटानबाट लखेटिएका नेपालीभाषीदेखि नेपाल तथा बाहिर बसोबास गर्ने नेपाली मात्र छैनौं, मध्यपूर्वदेखि युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिकासम्म ख्याति पाएका कलाकारले आफ्नो भूगोल, समुदाय तथा व्यक्तिगत अनुभवमा आधारित कला प्रस्तुति दिनेछन्।'
भुटानका पहिलो गायक भनेर चिनिने गायक प्रताप सुब्बालाई सम्मान गरिने कार्यक्रममा कवि नवराज पराजुली, गायक प्रताप सुब्बा, जगदीश समाल, मञ्जु लामा, इरिक गिरी, रूपेश ढुंगाना, नदिश, लीला निशा, उमेश आचार्य, नवीन प्राचीन, आइती राई, श्याम नेपाली, सुरेशचन्द्र प्रधान, मुस्कान बलम्पाकी, एण्ड्रयु बोर्कोब्स्की, युकी नुमाता रेन्सिक, नविन श्रेष्ठ, सर्वजीत राई, लोरा जे (म्युजिक कन्डक्टर) र बफ्लो स्ट्रिङ वर्क्सका वाद्यवादकहरूको संगीत तथा कविता प्रस्तुति रहनेछ।
ललितकलामा थ्रेट आर्ट स्टुडियोको तर्फबाट देउकुमार राई, सन लिम्बू, खड्ग बल, तिल्चन कालिकोटेलगायत कलाकारहरूको सहभागिता रहनेछ।