बेलायतको प्रमुख वृत्तचित्र चलचित्र महोत्सव र वृत्तचित्र परियोजनाका लागि शेफिल्ड डकफेस्टमा पाँच जना नेपाली महिला फिल्म निर्माता सहभागी हुने भएका छन्।
फिल्मकर्मी आश्रुति त्रिपाठी, पिंकी श्रीस राना, प्रशंसा केसी, प्रासना डंगोल र स्मृति बस्नेत बेलायत जान लागेका हुन्। मंगलबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा आफूहरू यही महिना बेलायत जाने डंगोलले जानकारी दिइन्।
विश्व प्रतिष्ठित ओस्कार अवार्ड र युरोपेली एकेडेमीसँगको सहकार्यमा हुने शेफिल्ड डकफेस्ट संसारकै प्रभावशाली चलचित्र महोत्सव मानिन्छ। यसलाई वृत्तचित्रका विविध प्रकारको गहिराइ पहिल्याउँदै कला प्रवर्द्धन र प्रचारको थलोको रूपमा लिइन्छ।
बेलायतको तास्कोभ्स्की फिल्मको नेतृत्वमा रहेको ब्रिटिश काउन्सिलको जेन्डर फिल्म कार्यक्रममार्फत र पोखराको पामे फिल्म फेस्टिभल तथा संगीत महोत्सवको सहकार्यमा यो महोत्सवको आयोजना गरिएको हो।
'यस्तो कार्यक्रममा ब्रिटिश काउन्सिलले पहिलो पटक सहकार्य गरेको छ। यसले हामीलाई थप हौसला मिलेको छ। शेफिल्डमा गएर हामीले केही राम्रो कुरा सिक्छौं भन्ने आशा छ,' डंगोलले बताइन्।