पोखरेली सांगीतिक ब्याण्ड 'कन्दरा'को कन्सर्टको व्यवस्थापन 'नेपग्याज्म लाइभ इभेन्ट' (एनएलई)ले गर्ने भएको छ। यसै विषयमा दुई कम्पनीबीच व्यवसायिक सम्झौता भएको छ।
सम्झौतापछि कन्दराका गीत-संगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्टले गर्ने ब्याण्डका गायक विवेक श्रेष्ठले बताए।
‘सन् २०१६ देखि हामी ब्याण्डलाई पुनः सक्रिय बनाउन प्रयासरत छौं। संगीत पूर्ण रुपमा व्यावसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ उनले भने, ‘नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबीच सहकार्य भएको हो।’
उनका अनुसार एनएलईलाई व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी सुम्पेपछि आफू र ब्याण्डका अन्य सदस्य खुलेर गीत संगीतमा लागेर नयाँ पुस्तासँग जोडिन पाउनेछन्।
सन् २०१८ देखि नेपग्याज्मले ‘स्ट्याण्ड अप कमेडी’ निर्माण गर्दै आएको छ। नेपग्याजम लाइभ इभेन्टका संस्थापकमध्येका एक शरद श्रेष्ठले एनएलईको पहिलो काम नै ‘कन्दरा ब्याण्ड’बाट सुरू गर्न पाउनु ठूलो अवसर भएको बताए।
‘नेपग्याज्म मिडिया एण्ड प्रोडक्सन हो। त्यहाँबाट प्रोडक्सनको काम बढी गर्छौं। इभेन्ट म्यानेजमेन्टको काम प्राथमिकतामा राखेर नयाँ कम्पनीका रूपमा एनएलई खोलेका हौं,’ उनले भने।
उनका अनुसार यही वर्ष ब्यान्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ। जसमा पहिलो एल्बमको टाइटल ट्रयाक ‘चञ्चले कान्छी’, दोस्रो एल्बमको टाइटल ट्र्याक ‘डाँडापारी’ र तेस्रो एल्बमको गीत ‘विदेशिएर गइन् उनी’को रिप्राइज्ड भर्सन निकाल्ने तयारी गरेको हो।
कन्दराले आफ्नो आधिकारिक लोगो पनि सार्वजनिक गरेको छ। लोगोमा संगीतको सूचकको रुपमा गितारको हेडसँग ट्युनर्स राखिएको छ जुन नेपाली हस्तलिखित अक्षर ‘क’ सँग जोडिएको छ।
सन् १९९० को दशकमा उदाएको कन्दराका ‘लेककी हे माया', 'चन्चले कान्छी', 'तिमी पारी', 'हङकङ पोखरा', 'तगारोमा रुमाल राखी' जस्ता गीतहरू चर्चित छन्।