शुक्रबार रिलिजअन्तर्गत दुई विदेशी फिल्मसँगै एक नेपाली फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'घनचक्कर', बलिउड फिल्म 'जुगजुग जियो' र हलिउड फिल्म 'एल्भिस' प्रदर्शनमा आएका हुन्।
अभिनेता सौगात मल्ल र सलोन बस्नेत अभिनित फिल्म 'घनचक्कर'मा युवाहरूको महत्वकांक्षी सपनाले गर्दा कसरी उनीहरू घनचक्करमा फस्छन् भन्ने विषयवस्तुलाई प्रस्तुत गरिएको छ।
भट्ट एन्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन्।
कमेडी जनराको फिल्ममा सौगात र सलोनसँगै जेवी डिसी, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ।
हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुणा अर्याल र संगम भट्टको लगानी छ।
सुसन प्रजापति खिचेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र विजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन रहेको छ।
त्यस्तै, राज मेहताले निर्देशन गरेको बलिउड फिल्म 'जुगजुग जियो'मा अनिल कपूर, नितु कपूर, वरुण धवन, कियारा आड्वानीलगायत कलाकारको अभिनय छ।
बाज लुहरम्यानले निर्देशन गरेको हलिउड फिल्म 'एल्भिस'मा टम ह्यांक्स, अस्टिन बटलर, ओलिभिया डेजोन्जेलगायत कलाकारको अभिनय रहेको छ। यो बायोग्राफी म्युजिकल ड्रामा फिल्म हो।