संगीतका लागि संसारकै ठूलो पुरस्कार 'ग्रामी अवार्ड' का लागि मनोनीत अमेरिकी संगीतकार एन्ड्रु बोर्कोवोस्कीसँगको सहकार्यमा कवि नवराज पराजुलीको नयाँ रचना 'स्कुल' रिलिज भएको छ।
'स्कुल' शुक्रबार पराजुलीको आधिकारिक युट्युब च्यानलमा रिलिज भएको हो।
पराजुलीका अनुसार एन्ड्रुसहित 'स्कुल' मा १६ अमेरिकी र ७ नेपाली वाद्यवादक संलग्न छन्। 'स्कुल' मा कवि पराजुलीकै शब्द र संगीत छ भने रिदम कँडेलले संगीत संयोजन गरेका छन्।
पराजुलीसहित कँडेल र अनिल सुब्बाले यसमा स्वर भरेका छन्।
'स्कुल' मा १२ नेपाली भाषाका कलाकारहरूले स्वर दिएका छन्। सन्थाली भाषामा झापाकी अन्जली कास्कीले स्वर दिएकी छिन् भने राई (दुङ्माली) भाषामा अल्ट्रा धावक मीरा राइको स्वर छ।
तामाङ भाषामा नेपाली तारा सन्तोष लामा र मैथिली भाषामा कलाकार तथा निर्देशक सरिता शाहले स्वर दिएका छन्।
बाँकी भाषामध्ये भोजपुरी (अनिल कुर्मी), लिम्बू (अनिल सुब्बा), गुरुङ (सुरज तमू), मगर (जेम्स मगर), अवधी (अजय पाण्डे), कोइच (इंगि होपो कोइंच सुनुवार) र नेवारीमा फिल्म निर्देशक राजिन महर्जनको स्वर छ।
यस रचनामा मनिष गन्धर्वले सारंगी, किरण बरालले बाँसुरी, जगन्नाथ धौगोडाले तबला, दिपेश राईले ढोल, सम्यक महर्जनले सिंगिङ बाउल र आशुतोषले शंख बजाएका छन्।
स्कुलहरूले फरक भाषा र प्रतिभालाई ठाउँ नदिँदा विद्यार्थीलाई कसरी असर परिरहेको छ भन्ने कुरा मूलत: 'स्कुल' मा समेटिएको छ।
'स्कुल' का निर्माता भुवन आचार्य हुन्।