गत वर्ष नाटकका रूपमा प्रस्तुत गरिएको पचली भैरबको कथालाई पुस्तकका रूपमा प्रकाशित गरिएको छ। चन्द्रमान मुनिकारले संकलन गरेको कथा र निर्देशन गरेको नाटकको शनिबार पुस्तक लोकार्पण गरिएको हो।
टेकुस्थित कौसी थिएटरमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बौद्ध विद्वान यज्ञमानपति बज्राचार्य लगायतले पुस्तक सार्वजनिक गरेका थिए।
गत वर्ष कात्तिक २५ गतेदेखि मंसिर ४ गतेसम्म सो नाटक कौसी थिएटरमा मञ्चन गरिएको थियो। कथाको नाट्य रूपान्तरण र सह-निर्देशन इँगिहोपो कोंइच सुनुवारले गरेका थिए भने नाटकको सम्पूर्ण व्यवस्थापन सुदन मुनिकारले गरेका थिए। नाटकमा प्रमुख पात्र भैरवको अभिनय गरेका सुदन मुनिकारले कार्यक्रम संचालन पनि गरेका थिए।
पुस्तक सार्वजनिक कार्यक्रमक्रममा महानगर उपप्रमुख डंगोलले पुस्तकले आउने पुस्तालाई नाटकबारे बुझ्ने मौका दिने बताइन्। काठमाडौंलाई मूर्तसँगै अमूर्त सम्पदाको धनी केन्द्र भन्दै उनले पुस्तक र नाटकको माध्यमबाट ती सम्पदाको संरक्षणमा सबै लाग्नुपर्ने बताइन्।
बज्रकला कुञ्जका संस्थापक अध्यक्ष चन्द्रमान मुनिकारले छिट्टै नयाँ नाटक लिएर रंगमञ्चमा फर्किने बताएका छन्।