अभिनेता अनुप विक्रम शाहीले सञ्चालन गर्ने एडभेन्चर रियालटी शोको नाम ‘म्याडभेन्चर’ राखिएको छ। यस शोलाई सौगातमान सिंह बस्नेतले निर्देशन गर्नेछन्।
निर्देशक बस्नेतले शोको नाम ‘म्याडभेन्चर’ जुरेको जानकारी दिए। यात्रा र एडभेन्चरमा म्याडनेस थपेर शोको नाम ‘म्याडभेन्जर’ राखिएको हो।
रोचक र रोमान्चक यात्रा गराउने शोमा अभिनेता शाहीले पाँच एपिसोडमा फरक-फरक स्थानको परिचय दिनेछन्।
रोचक शैलीमा निर्माण हुने शोको गीत र संगीतका लागि नेपाली रक संगीतमा चर्चित ब्याण्ड ‘स्याडोज’ का सदस्य स्वप्निल शर्मा भित्रिएका छन्। शर्मासँगै 'फज फ्याक्ट्री'का रोहित शाक्य पनि टिममा रहने निर्देशक बस्नेतले बताए।
टुरिजम क्षेत्रमा लामो समयदेखि सक्रिय ट्रेकिङ्ग टिम, प्रोडक्सन, ग्रफिक्स तथा एडभर्टाइजिङमा सक्रिय ब्राण्डलेन्सर र स्टुडियो कृयोको निर्माण रहेको शोले नेपाली ट्राभल तथा टुरिजम क्षेत्रका लागि एउटा महत्वपूर्ण दस्तावेज हुने निर्माण टिमको विश्वास छ।
अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण हुने शोको पहिलो चरणमा पाँच भाग निर्माण हुनेछ। यी भागमा ‘आइल्याण्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिनेछ।
‘शोमा थुप्रै पिकहरू चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य हाम्रो रहेको छ,’ निर्देशक बस्नेतले भने।