छक्का पन्जा टिमबाट अलग्गिएका जितु नेपालले नयाँ फिल्म बनाउने भएका छन्।
फिल्मको छायांकन दशैंपछि हुने जितुले जानकारी दिए।
'अहिले हामी फिल्म बनाउने कि भन्ने सोचेका मात्र हौं। कस्तो कथामा फिल्म बनाउँदा राम्रो हुन्छ भनेर छलफल गरिरहेका छौं। हामी पहिलो चरणमा छौं। दशैंपछि गर्नुपर्ला भन्ने योजना मात्र हो,' उनले सेतोपाटीसँग टेलिफोन कुराकानीमा भने।
'फिल्म गर्ने भनेर मात्र हुँदैन, सबै कुरा मिल्नुपर्छ। दर्शकलाई त फिल्म मनपर्छ कि पर्दैन थाहा हुँदैन तर आफूलाई मनपर्ने फिल्म बनाउनुपर्छ। त्यसकारण हामी हतारिएका छैनौं। कथा चित्त बुझ्यो भने मात्र फिल्मको काम अगाडि बढ्छ,' उनलेे थपे।
यस फिल्मलाई दिनेश डिसीले निर्देशन गर्ने तयारी छ। फिल्मको निर्देशनको लागि डिसीसँग छलफल भइरहेको जितुले बताए।
पहिला दीपकराज गिरी र दीपाश्री निरौलाको टिममा काम गरेका जितु नेपाल, सुमन गिरी र ताराचन्द्र बजगाईंले मिलेर नयाँ फिल्म निर्माण गर्ने लागेका हुन्।
‘अहिले हामी तीन जना छौँ। त्यसबाहेक अरु पनि जोडिनु हुन्छ होला,’ उनले भने।
जितु नेपाल कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ सिजन ३ को तयारीमा छन्। यस शो साउन दोस्रा सातादेखि प्रसारण हुने बताइएको छ।