गोर्खा सेनाका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको जीवनीमा आधारित फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ।
सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा आक्रमण गरेका थिए। उक्त युद्धमा २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते भएका थिए। घाइते भएको भोलिपल्टदेखि उनी पीडितको उद्दारमा खटिए। त्यसपछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो। उनै कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।
प्रदीप शाहीको निर्देशनमा बनेको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन्।
लामो समयदेखि बेलायतमा बसेर फिल्म निर्माण गर्दै आएका शाहीले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन्।
शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा मधु गुरुङ र प्रयास गुरुङ छन्। निक्को प्रताप गुरुङ र अमृत गुरुङले छायांकन गरेको फिल्मलाई रुपेश गुरुङले सम्पादन गरेका हुन्।
नेपाल प्रदर्शनभन्दा अगाडि फिल्मको यूके, अमेरिका, ब्रुनाई, सिंगापुर र अष्ट्रेलियामा स्क्रिनिङ गरिनेछ। नेपालमा फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ। यो फिल्म भदौ २४ गतेदेखि प्रदर्शन हुँदैछ।