गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित सांगीतिक अवार्ड 'ग्रामी अवार्ड'को मतदान सदस्य भएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत आफू ग्रामीको मतदान सदस्यमा छनोट भएको जानकारी दिएका हुन्।
'हामी सबै ग्रामी हेरेर हुर्केका हौं। ग्रामीको एक मतदान सदस्य हुन पाउँदा एकदमै उत्साहित छु। २०२२ को नयाँ ग्रामी सदस्य वर्गको भाग बन्न र हाम्रो संगीत समुदायको सेवा गर्न निमन्त्रणा स्वीकार गर्छु,' उनले लेखेका छन्।
अवार्ड आयोजक समितिले विश्वभरका दुई हजारभन्दा धेरै सर्जकलाई मतदान सदस्यमा मनोनित गर्दा क्षेत्री पनि परेका हुन्। उनी ग्रामी अवार्डको मतदान सदस्यमा मनोनित हुने पहिलो नेपालीभाषी गायक हुन्।
युवा पुस्तामाझ चर्चित गायक क्षेत्रीका 'राम साइली', 'सिण्डिकेट', 'डढेलो लाग्यो', 'भेट भयो आज हामी' जस्ता गीत चर्चित छन्।