फिल्म 'प्रसाद २'को औपचारिक निर्माण घोषणा गरिएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो। 'प्रसाद २' लाई सुदर्शन थापाले निर्देशन गर्दैछन्। यसअघि प्रसादलाई दिनेश राउतले निर्देशन गरेका थिए।
'प्रसाद २ निर्देशन गर्ने अफर आउँदा फिल्मको दुइटा स्टोरी लाइन एकदमै मन परेको थियो। तर त्यो अहिले खुलाउन सक्दिनँ। नेपालमा धेरै फिल्म सिक्वेल भनेर बन्न थालेको छ। तर ठिकसँग बनेका छैनन्। प्रसाद चाहिँ वास्तविक सिक्वेल हो,' कार्यक्रममा बोल्दै निर्देशक थापाले भने, 'म आफू पनि प्रसादको प्रशंसक भएको हुँदा प्रसाद २ कुन मोडमा जान्छ भन्ने कुरामा उत्सुक थिएँ। यसलाई अझै राम्रो कसरी बनाउन सकिन्छ भन्ने कोसिस गरिरहेको छु।'
सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिका रहनेछ। यो फिल्मबाट निश्चल बस्नेत बाहिरिएपछि अर्पण थापालाई अनुबन्ध गराइएको छ। फिल्ममा विपिन, नम्रता र अर्पणसँगै राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।
अभिनेत्री नम्रताले मेरो एउटा साथी छ पछि निर्देशक थापासँग काम गर्न पाउँदा उत्साहित रहेको बताइन्।
अभिनेता विपिन कार्कीले आफ्नो आगामी कामलाई राम्रो बनाउने कोसिस गर्ने बताउँदै भने, 'मेरो पढाइ, भोगाइ र अनुभवलाई संगाल्दै आफ्नो आगामी कामलाई महत्व दिन्छु। तर कति सफल असफल भएँ भनेर समयले देखाउँछ।'
उनले फिल्म निर्माण घोषणा कार्यक्रममा आफू आउँदो वर्षको बैशाखसम्म व्यस्त रहेको बताए। त्यस्तै आफूले कतिपय फिल्म अस्वीकार गर्दा फिल्ममेकरहरुले 'पख्लास् तँलाई मेरो फिल्म नखेल्ने भनेजस्तो गर्ने' गरेको समेत बताए।
सुशील पौडेलको लेखनमा बन्ने यो फिल्मबाट केशव पाण्डेले फिल्म निर्माणमा हात हालेका छन्। पाण्डेको फिल्म क्षेत्रको पहिलो अनुभव हो। निर्माता सुभाषसँग पाण्डेले निर्माणमा साझेदारी गरेका हुन्।