सुजित बिडारी निर्देशित फिल्म 'ऐना झ्यालको पुतली' भदौ २४ मा प्रदर्शनमा आउने भएको छ।
शुक्रबार फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।
'ऐना झ्यालको पुतली' दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रीन अवार्डजस्ता विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा छनोट भइसकेको फिल्म हो।
बुसानमा सबैभन्दा ठूलो पुरस्कार राशि रहेको 'न्यू करेन्ट सेक्सन' छानिने पहिलो नेपाली फिल्मको रुपमा इतिहास बनाएको फिल्मबाट ढाकामा सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए। फिल्मको कथा सुजितले नै लेखेका हुन्।
फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपनालाई विषय बनाएको छ। तर जतिचोटि उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ। सुजितले किशोरीको पढ्ने सपनालाई ऐनाजस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए।
‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन। हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ,’ सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ। यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिबिम्ब देख्न सक्छौं।’
फिल्ममा किशोरी र उनको ९ वर्षको भाइबीचको सुमधुर सम्बन्धलाई पनि देखाइएको छ।
१ करोड २५ लाख लगानीमा बनेको फिल्ममा सिरु विष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठलगायत कलाकारको अभिनय छ।
आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन्। अमर महर्जनले छायांकन गरेको फिल्मलाई किरण श्रेष्ठले सम्पादन गरेका छन्।