पछिल्लो समय अभिनेता विपिन कार्की चर्चामा छन्। अभिनयको कारण चर्चामा रहने अभिनेता कार्की अहिले पारिश्रमिकको कारण चर्चामा छन्।
उनले एकै फिल्मबाट ५० लाख लिने गरेको बताइएको छ। बिहीबार 'प्रसाद २' को निर्माण घोषणा कार्यक्रममा उनले राम्रो फिल्ममा आफूले बिना पारिश्रमिक पनि काम गर्न गरेको बताए।
'पछिल्लो समय पारिश्रमिकको कारणले विपिन कार्की फिल्मबाट बाहिरिए भन्ने खबर आइरहेको छ। तर त्यस्तो होइन। मलाई एकै समयमा धेरै फिल्मको अफर आइरहेको हुन्छ। प्रसादकै अफर आउँदा पनि मसँग तीनटा स्क्रिप्ट थियो। कुनै फिल्मको बाग्लुङमा सुटिङ हुन्छ कुनैको काठमाडौं। ती मध्ये मैले एउटै त गर्न सक्छु। त्यसैले मैले दुइटा फिल्मलाई अस्वीकार गर्नु पर्ने हुन्छ,' उनले भने।
उनले आफू स्क्रिप्ट, क्यारेक्टर, निर्देशक र टिमको आधारमा कुन फिल्ममा काम गर्ने भनेर छनोट गर्ने बताए।
'यही आधारमा मैले प्रसाद २ गर्ने निर्णय गरेँ। अन्य फिल्ममेकरले चाहिँ पख्लास् तँलाई, मेरो फिल्म नखेल्ने भनेको जस्तो गर्नुहुन्छ। खासमा पैसासम्म कुरा नपुगी टुंगिहाल्छ,' उनले प्रष्टाए।
उनले आफूसँग पारिश्रमिकको कारणले फिल्म छाडेको अनुभव नभएको बताउँदै भने, 'पारिश्रमिकको कारण नै फिल्म छोडेको अनुभव छैन। तर मसँग बिना पारिश्रमिक काम गरेको अनुभव छ। मैले भर्खरै 'रातो सुटकेस'मा बिना पारिश्रमिक काम गरेकाे छु।'
उनले आफूलाई वैशाखसम्म कुनै फिल्मको अफर नगर्न बताए। 'जो निर्माताले मलाई लिन चाहनु भएको छ। उहाँहरू वैशाखसम्म फिल्मको अफर लिएर नआउँदा हुन्छ। मैले आगामी फिल्मको सेड्युल फाइनल गरिसकेकाे छु,’ उनले भने।
अभिनेता विपिन कार्की ‘प्रसाद २’ को छायांकन सकेपछि बलिउड फिल्म एनिमलको छायांकनमा व्यस्त हुनेछन्।