दृष्टिविहीनहरूले भोग्ने गरेका दु:ख,सुखको कहानीलाई गीतमा उतारिएको 'हाम्रो पनि मन हुन्छ' बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
डिलाइटेड नेपाल युट्युब च्यानलबाट भिडिओ भएको हो।
यसै वर्ष रचनातर्फको नातिकाजी स्मृति पुरस्कारबाट पुरस्कृत गीतकार डिपी दाहाल परिश्रमीद्वारा रचित उक्त गीतमा दृष्टिविहीनहरूको मनभित्रका भोगाइहरूलाई प्रस्तुत गरिएको छ।
प्रत्यक्ष रूपमा आँखा देख्नेहरूले आँखा नदेखि विवश भएकाहरूलाई अन्तर्मनदेखि नै माया गरौं, उनीहरूले बाहिरी आँखा नदेखे पनि भित्री आँखाले सबै देखिरहेका हुन्छन् भन्ने गीतमा देखाइएको छ।
अर्कालाई अर्ति दिन जो पनि तयार हुन्छन् तर व्यवहारमा खरो उत्रन सक्दैनन्, त्यसैले बोलीले मात्र हैन, व्यवहारले नै दृष्टिविहीनहरूलाई सहयोग गर्नुपर्ने, माया गर्नुपर्ने भाव उल्लेख छ।
धेरै धन कमाएकाहरू पनि सुखी नभएका र मनका खुसी पनि बाहिरै देखिँदैनन्, बाहिरी र भित्री आँखा चिन्नुपर्ने, मान्छेको मनभित्र नै आगो र पानी हुने भएकाले संयमपूर्वक प्रस्तुत हुनुपर्ने सन्देश गीतले दिन खोजेको छ।
यस गीतमा गायक दीपक लिम्बू, गायिका पूजा देवकोटाको स्वर छ भने पुरूषोत्तम न्यौपानेको संगीत र केशव बडूको एरेन्ज छ।
भिडिओ निर्देशन स्मृति तिमिल्सेना (गुरुआमा) ले गरेकी छन्। सो भिडिओमा कलाकारद्वय कमल सिंह र आयुष्मा कार्कीको अभिनय छ।