हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ ले उपाधि मुकुट फिर्ता गरेको छ।
विवादित श्रीपेचको मुकुट बौद्ध धर्मावलम्बी गुरूलाई विजेता भाइबर साइमन र काठमाडौं महानगरका मेयर बालेन शाहले फिर्ता गरेको नेपहप श्रीपेचका निर्देशक निकेश खड्काले जानकारी दिए।
उनका अनुसार उक्त मुकुट बजारबाट किनेर ल्याइएको थियो।
‘हामीले डिजाइन गरेको मुकुट केही कारणले गर्दा अड्किएको थियो,’ उनले भने, ‘त्यसपछि हामीले कला संस्कृति झल्किने मुकुट खोजेका थियौं। सोही अनुसार बजारमा उक्त मुकुट भेटिएका कारण किनेर ल्याएका हौं।’
उनका अनुसार उक्त मुकुट खोजेजस्तै संस्कृति झल्कने रहेको र बौद्ध कला देखिएका कारण रोजिएको थियो। उनीहरूले रोजेको त्यो मुकुट बज्राचार्य समुदायको संस्कृतिसँग जोडिएको थियो। बज्राचार्यहरूको पूजामा अभिषेक पाएपछि गुरूले शिष्यलाई यस्तो मुकुट दिने चलन छ। आफूहरूको मुकुटलाई रियालिटी शोमा उपाधिका रूपमा दिइएको भन्दै विरोध भएको थियो।
‘हामीबाट यो गल्ती अन्जानमा भएको हो,’ खड्काले भने, ‘ कसैको धार्मिक भावनामा ठेस पुर्याउने उद्देश्य थिएन। त्यसैले मुकुट फिर्ता गरिएको हो।
खड्काले विजेता साइमनलाई उपाधि दिन अर्को मुकुट तयार गरिरहेको बताए।
नेपालकै पहिलो हिपहप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि शनिबार साइमनले जितेका थिए।
शो को निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह थिए। सो चलिरहँदा नै शाह काठमाडौं महानगरका मेयर निर्वाचित भएका थिए।