सारा सिर्पाली अभिनित फिल्म 'गुञ्जन' आगामी पुस २९ गतेबाट प्रदर्शन हुने भएको छ।
प्रेमकथाको विषयमा बनेको फिल्ममा सारासँगै प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायत कलाकारको अभिनय छ।
फिल्ममा अभिनेत्री नीता ढुंगानाको आइटम डान्स समेत रहेको छ। उनले ‘कोही भन्छन् रसिली छु रे’ बोलको गीतमा आइटम नृत्य गरेकी छन्।
अष्ट महर्जनले निर्देशन गरेको फिल्ममा सुनिता शाहीको लगानी रहेको छ। विगत दुई दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट यो फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन्। आफूले फिल्म क्षेत्रबाट सिकेको, जानेको सबै अनुभव ‘गुञ्जन’ मा खन्याएको निर्देशक अष्टले बताए।
काठमाडाैं, पोखरा, जोमसोम र दुबईमा छायांकन गरिएको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ।
राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्। याे फिल्मकाे वितरणकाे जिम्मा जीजीए ग्रुप र एफडी कम्पनीले लिएकाे छ।