अनुप बराल निर्देशित फिल्म 'दोख' यही शुक्रबारदेखि हलमा प्रदर्शन हुँदैछ। प्रदर्शन मिति नजिँकिदै गर्दा निर्देशक बराल र अभिनेत्री दीया मास्के उत्साहित छन्।
यो फिल्म प्रदर्शन हुन लाग्दा भारी बिसाउन लागेको महसुस भएको बताउँछन् निर्देशक बराल। सात वर्षदेखि यो फिल्मसँग जोडिएका छन् उनी।
'यो फिल्म लगभग सात वर्षपछि प्रदर्शनमा आउन लागेको छ। दर्शकहरूले कसरी लिनुहुन्छ भन्ने जिज्ञासा छ। साथसाथै यो फिल्म धेरै दर्शकमाझ पुगोस् भने आशा छ। प्रदर्शनको संघारमा आउँदा रोमाञ्चक महसुस भइरहेको छ। अलिकति डर र अलिकति खुसी छ,' उनले भने।
अभिनेत्री दीया मास्के पनि दोख प्रदर्शन हुन लागेकामा खुसी छन्।
'यो फिल्म प्रदर्शन हुन्छ भन्ने खबर पाउँदा एकदमै खुसी भएँ। सात वर्ष त हाम्रा लागि दोखमय नै भयो। सात वर्षसम्म अनुप सरको ध्यान यही फिल्ममा मात्र थियो। यो फिल्म बन्नुको पूरै श्रेय अनुप सरलाई जान्छ भन्दा फरक पर्दैन,' उनले भनिन्, 'कलाकारहरूको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका छ। तर ८० प्रतिशत निर्देशकको छ भने कलाकारको २० प्रतिशत। सात वर्षमा हामी कलाकारले अरू काम पनि गर्यौं, तर उहाँले यही फिल्ममा मात्र समय दिनुभयो।'
यो फिल्मको छायांकन २०७१ साल चैतबाट सुरू गरिएको हो। छायांकन सुरू गरेको केही दिनमै भुइँचालो आयो। छायांकन रोकियो।
भुइँचालोपछि स्थिति सामान्य हुँदै गर्दा दोख टोली पुनः छायांकनमा पनि गयो। फेरि भारतले लगाएको नाकाबन्दीका कारण रोकियो। दोखको काम रोकिएपछि टोलीका सदस्यहरू अरू काममा लागे। व्यस्त भए।
त्यसैले दोखको छायांकन सहजै हुन पाएन। त्यसपछि फेरि आयो कोरोना। अलिअलि गति समात्न खोज्दै गर्दा आएको कोरोनाले काम पूरै रोकियो।
बारम्बार बाधा-अड्चन आउँदा पनि निर्देशक अनुपले यो फिल्म भुल्न सकेका थिएनन्। उनको ध्यान 'दोख' मै केन्द्रित थियो। स्थिति सामान्य भएपछि कलाकारहरू फिल्मसँग जोडिए। तर तीन वर्षको अन्तरालमा फिल्मको बजेट बढेको अनुप बताउँछन्।
२०७२ को भुइँचालोअघि बन्न थालेको फिल्म दोख विभिन्न बाधा झेलेर कोरोनाकालपछि रिलिज हुने भएको हो।
निर्देशक अनुप र अभिनेत्री दीया श्रीमानश्रीमती हुन्। तर कामका मामिलामा उनीहरू नाताभन्दा पेसामै बढी ध्यान दिन्छन्।
'हामी आफ्नो काममा एकदमै ध्यान दिन्छौं। निर्देशक र अभिनेत्रीको हिसाबले नै काम गर्यौं,' रंगकर्मी समेत रहेकी दीयाले भनिन्।
छायांकन हुँदा उनीहरू अलगअलग ठाउँमा बसेका थिए।
सेटमा एक जनाले अनुपलाई सोधेको कुरा उनले सम्झिए, 'छायांकन क्रममा एक जनाले तपाईंहरू श्रीमानश्रीमती नै हो र भनेर पनि सोधे। मैले किन भनेर सोध्दा उनले तपाईंहरू सँगै पनि बस्नुहुन्न, छायांकन सेटमा पनि बोल्नु हुन्न नि भने।'
निर्देशक अनुप र अभिनेत्री दीयासँग हामीले 'दोख' का अनुभव र उनीहरूको कामका विषयमा कुराकानी गरेका छौंः
हेर्नुहोस् भिडिओ-