नेपाल नेटवर्क टेलिभिजनले छोटो फिल्म प्रतिस्पर्धा ‘एनएनटीभी शर्ट्स्’ घोषणा गरेको छ।
'मेरो कथा, मेरो सिनेमा’ नारासहित हुने प्रतिस्पर्धामा सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न चाहेको छोटो फिल्मको कथासार एनएनटीभी शर्टसमा पेश गर्नुपर्ने बताइएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै साउन २० गतेभित्र छोटो फिल्मका कथासार दर्ता गराइसक्नु पर्ने बताइएको हो। १२ देखि २४ मिनेटसम्मको दर्ता भएका कथाहरू साउन २५ देखि भदौ २५ सम्म निर्माण गरिसक्नु पर्नेछ।
छनोटमा परेका छाेटा फिल्महरूबारे निर्णायक मण्डलले भदौ २६ देखि मूल्यांकन गर्नेछन्। प्रतियोगिताको निर्णायकमा अभिनेता सुनिल थापा, पूजा शर्मा र दिपेन्द्र के खनाल देखिने छन्।
उक्त छोटा फिल्महरू असोज १ गतेदेखि नेपाल नेटवर्क टेलिभिजनमा प्रसारण हुनेछन्। प्रसारित छोटा फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपैयाँ नगदका साथै ट्रफी र प्रमाणपत्रसमेत प्रदान गरिनेछ।
यसबाहेक उत्कृष्ट १० वटा फिल्मलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट पाँच फिल्मकर्मीले डीएआर मुभिजबाट निर्माण हुने फिल्म र नेपाल नेटवर्क टेलिभिजनबाट निर्माण हुने फिल्ममा काम गर्ने अवसर प्राप्त गर्नेछन्।