नेपाली कविता र गीतलाई अमेरिकामा पूर्वीय र पश्चिमी बाजाहरूसँग प्रस्तुत गरिएको छ।
न्यूयोर्कको बफ्लो सहरमा जुलाई २ मा आयोजित 'मिस्टिक इकोज २' कार्यक्रममा ७ गीत र ८ कविता सारंगी, चेलो, भायोलिन, भायोला, तबला, बाँसुरी, मुर्चुंगा, पियानो आदिसँग प्रस्तुत गरिएको हो।
पश्चिमी बाजाहरूलाई अमेरिकाको सांगीतिक संस्था 'बफ्लो स्ट्रिङ वर्क्स' का वाद्यवादकहरूले कविता र गीतसँग सुनाएका थिए।
पूर्वीय बाजामा श्याम नेपालीले सारंगी, नविन श्रेष्ठले तबला, सर्वजीत राईले बाँसुरी, सुरेशचन्द्र प्रधानले बाँसुरी र मुर्चुंगा बजाएका थिए भने मुस्कान बलम्पाकीले पियानो सम्हालेका थिए।
जगदिश समालले चार वटा र मन्जु लामाले तीन वटा गीत प्रस्तुत गरेका थिए।
नवराज पराजुली (हेब्बी बड्डे, मोक्ष, जुलपी), नदीश (अचेत सभ्यताको माझबाट), नविन प्राचीन (प्वाँख, नजिक), रूपेश ढुंगाना (मजेत्रो), आइती राई (आइ एम इमिग्रेन्ट), लीला निशा (डियर नियती), उमेश आचार्य (झर्नबाट नडराउनू), ले आआफ्ना कविताहरू पूर्व र पश्चिमका बाजाका धूनसँगै पस्केका थिए।
कार्यक्रममा प्रस्तुत कविता र गीतहरूको संगीत संयोजन नेपालबाट रिदम कँडेलले गरेका थिए। प्रस्तुत गीतहरूमध्ये 'झल्को लिएर आएछ सावन', 'आओ यादहरू हो आओ' र 'बन्धनको चिनो' का तारबाजाहरूको संगीत संयोजन र स्टाफ नोटेसन लेखन राजकुमार श्रेष्ठले गरेका थिए।
कविताभरि शान्त रहेका दर्शक बाँसुरी, तबला र सारंगीको इन्स्ट्रुमेन्टल प्रस्तुतिमा नाच्दै झुमेका थिए। कार्यक्रमकै लागि भनेर ४/५ घन्टाको हवाइ दुरीबाट पनि दर्शक उपस्थित भएका आयोजकले जनाएको छ।
सोही कार्यक्रममा कवि नविन प्राचीनको दोस्रो कविताकृति 'प्वाँख' विमोचन गरिएको थियो। नेपालय प्रकाशनबाट प्रकाशित ८७ कविताहरूको संगालो 'प्वाँख' लाई वरिष्ठ गायक संगीतकार प्रताप सुब्बा, समास फाउन्डेसनका अध्यक्ष लामिन तामाङ, कवि लिला निशा, फाइनप्रिन्ट प्रकाशनका संस्थापक अजित बराल र कवि नवराज पराजुलीले संयुक्त रूपमा विमोचन गरेका थिए।
वरिष्ठ संगीतकार गायक तथा गीतकार गोपाल योन्जनसँग सहकार्य गरी नेपाली संगीतमा पुर्याएको योगदानलाई सम्मान गर्दै समास फाउन्डेसनले वरिष्ठ संगीतकार प्रताप सुब्बालाई सोही कार्यक्रममा सम्मानित गरेको छ।
सम्मान पत्र र दोसल्ला ओढाइ सम्मानित भएपछि सुब्बाले भावुक हुँदै भने, 'भुटानमा हुँदा पनि नेपाली संगीतमा लागिरहेँ। नेपालमा शरणार्थी शिविरमा रहेर पनि संगीत गरिरहेँ। आन्दोलनमा पनि संगीत गरिरहेँ। आज अमेरिकामा आएर सम्मानित हुँदा साह्रै खुसी लागेको छ।'
सम्मान लगत्तै सांगीतिक सम्मानस्वरूप उनको लोकप्रिय गीत 'बन्धनको चिनो' को धूनलाई पूर्व र पश्चिमका १५ जना वाद्यवादकले आफ्नो साजमार्फत प्रस्तुत गरेका थिए।
समास फाउन्डेसनका अध्यक्ष लामिन तामाङले कार्यक्रम सक्किएपछि भने, 'चरम भोक र प्यासले रोइरहेको एउटा बच्चाले आमा पाएजस्तै नेपाली संगीत' साहित्य' संस्कृति र कलाले प्रिय कलाकारहरू पाएर रमाएको देख्दा म पनि बेस्सरी रमाएँ।'
कार्यक्रममा अर्केस्ट्रा सम्हालेकी लोरा जेले भनिन्, 'यस्तो कार्यक्रममा जोडिन पाउनु मेरो भाग्यको कुरा हो। म भविष्यमा यससँगै जोडिरहन चाहन्छु।'
कार्यक्रमका प्रोडक्सन म्यानेजर जन स्मि जिअल्सकीले यो हलमा सैयौं कार्यक्रम गराए पनि यति धेरै रङ भएको एउटै कार्यक्रम कहिल्यै नदेखेको बताए।
कार्यक्रममा चेलो बजाएका ग्रामी अवार्डका लागि मनोनित एन्ड्रू वोर्कोव्स्कीले भने, 'आफूले नजानेको भाषाको गीत-कवितामा चेलो बजाउँदा अर्कै नयाँ भाषा बन्दो रहेछ। मैले झन् धेरै सिक्न पाएँ।'
समासका सचिव पर्शु अधिकारीले भने, 'महिनौं खेती गरिसकेपछि आफ्नो फसल भित्र्याउँदा एउटा किसान जति खुसी हुन्छ, स्टेजमा बाजाहरू बजिरहँदा मलाई त्यही खुसी मिलिरहेथ्यो।'
उनले अब मिस्टिक इकोज ३ मा झन् के के गर्ने भनेर सपना देख्न थालिसको बताए।
समास फाउन्डेसनद्वारा आयोजित मिस्टिक इकोज २ कार्यक्रमको यो पहिलो खण्ड हो। यसको दोस्रो खण्ड अगस्ट १३ मा क्यानडाको विन्सोरमा हुँदैछ।
सबै तस्बिरः पर्शु अधिकारी