आज शुक्रबारबाट नेपाली फिल्म 'दोख' र हलिउड फिल्म 'थोर: लभ एण्ड थन्डर' प्रदर्शनमा आएका छन्।
अनुप बरालले निर्देशन गरेको फिल्म 'दोख'मा सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँ बीचको किचलो देखाइएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्।
माओवादी द्वन्द्व कालको परिवेशमा निर्माण गरिएको फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायत कलाकारहरूको अभिनय छ। फिल्मको कथा राजन कठेतले तयार पारेका हुन्।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन्।
फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युवराज भट्टराई रहेका छन्। शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।
यस्तै टाइका वाइटीटीले निर्देशन गरेको हलिउड फिल्म 'थोर'मा क्रिस हेम्सवर्थ, नतैली पोर्टम्यान, क्रिस्टिन बाले, तेस्सा थोमसोन र जाइमाइ एलेक्जेन्डरको अभिनय छ। याे मार्भल स्टुडियाेकाे सुपर पावर फिल्म हाे।