गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क राई साम्पाङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको चर्चा खुबै भयो।
स्वतन्त्र रूपमा निर्वाचनमा उठेर अत्यधिक मतसहित विजयी भएका उनीहरूको चर्चा चुलिनु स्वभाविकै थियो। सामान्य साइकलमा हिँड्ने राईको जीवनयात्राले धेरै नेपालीको मन जित्यो।
अहिले राई नगरका सामान्य काममा आफैं खटिएको दृष्य सामाजिक सञ्जालमा देखिँदा उनीप्रति सकारात्मक भाव बढ्दो छ।
द्वय मेयरले समग्र नगरको विकासमा कसरी योगदान गर्छन? त्यो मूल्याङ्कन हुने समय आइसकेको छैन। यता चित्रकार रामकृष्ण थापा (आरके थापा) र प्रकाश थापा (प्रथा) ले उनीहरूको मुहार उतारेर कोरेको क्यारिकेचरले नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान (नाफा) को कला प्रदर्शनस्थलमा पनि उत्तिकै स्थान पायो, जति चुनावका बेला पाएको थियो।
प्रथाले लामालामा कपालमाथिले नेपाली ढाका टोली पहिरिएका र पुक्क फुकेको गालासहितको राईको क्यारिकेचर बनाएका थिए भने आरके थापाले आँखामा कालो चस्मा र झुम्म दारीलाई केन्द्रमा राखी शाहको क्यारिकेचर बनाएका थिए।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कार्टुनिष्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा प्रदर्शित ‘नेपाली क्यारिकेचर २०७९’ शीर्षकमा प्रस्तुत गरिएकोमा शाह र राईको क्यारिकेचर चित्र आकर्षक बन्न पुगेको छ।
आगन्तुक दर्शकले क्यारिकेचर नियाल्दै निर्वाचनको चर्चालाई पुनःस्मरण गरे।
क्यारिकेचरले समाजसँग प्रत्यक्ष संवाद गर्छ। त्यसैले समाज रूपान्तरणको सम्बाहक पनि हो क्यारिकेचर। कार्टुनभित्र हुने क्यारिकेचर सन्देश प्रवाहको सशक्त माध्याम हो।
कार्टुन विधालाई गहकिलो बनाउन क्यारिकेचर महत्वपूर्ण भूमिका खेल्ने अग्रज कलाकारको प्रतिक्रिया छ। प्रदर्शनमा राखिएका क्यारिकेचरले पनि समसामयिकतालाई उजागर गर्ने प्रयास गरेको पाइन्छ।
क्यारिकेचर र विषयको तालमेल भएन भने अर्थ दिँदैन। सही कार्टुनका लागि विषय र क्यारिकेचरको तालमेल हुनैपर्नेमा कलाकार एकमत छन्। हास्य वा विचित्र प्रभाव सिर्जना गरी व्यक्तिको मुहारलाई विशिष्ट नक्कल गरी बढाइचढाइ गरिनु नै क्यारिकेचर हो।
बोलेर वा चित्र कोरेर पनि क्यारिकेचर गरिन्छ। बोल्दा आवाज र हाउभाउलाई ध्यान दिइन्छ तर लेख्य विधामा भने उसको पहिचान र व्यक्तित्व उतार्न सकियो भने मात्रै त्यो सफल क्यारिकेचर हुन्छ। मुहारलाई हुबहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर हो।
कला समीक्षक रमेशनाथ खनाल कलाभित्रको तिखो व्याङ्ग्य कार्टुन हो भने त्योभन्दा फरके व्यक्तिलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्ने विधा भने क्यारिकेचर भएको बताउँछन्।
विसं २०७४ देखि नै नियमित रूपमा क्यारिकेचर कला प्रदर्शनी हुँदै आएको छ। कोरोन महामारीका समयमा भने भर्चुअल रूपमा प्रदर्शन गरिएको थियो।
नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष वासु क्षितिज नेपालमा पछिल्लो समयमा क्यारिकेचरको महत्व बढेर गएको स्मरण बताउँछन्।
यसपटकको प्रदर्शनीमा समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरू छनोट गरी क्यारिकेचर बनाइएको छ। जसमा कलाकार हरिवंश आचार्य, केदार घिमिरे (माग्नेबुढा) का चार वटासम्म क्यारिकेचर समावेश छ।
यस्तै अन्य कलाकार नीर शाह, भुवन केसी, सन्तोष पन्त, सुनिल थापा, सिताराम कट्टेल (धुर्मस) देखि शताब्दी पुरूष सत्यमोहन जोशी, अग्रज कलाकार किरणमानन्धर तथा अन्य कलाकार तथा पत्रकारका क्यारिकेचर चित्र प्रदर्शनीमा देख्न पाइन्छ।