तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा भएको प्रदर्शनीलाई प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गरेका थिए।
‘नेपालमा क्यारिकेचरको विकास र यसको उठान निकै प्रभावकारी ढंगले अघि बढिरहेको छ। विगतका वर्षमा जस्तै यो वर्ष निकै राम्रा क्यारिकेचर प्रदर्शनीमा राखिएको छ,’ कार्यक्रममा बोल्दै कर्माचार्यले भने।
उनले कार्यशाला तथा प्रदर्शनीमार्फत नयाँ पुस्तालाई यस क्षेत्रमा जोड्नुपर्ने बताउँदै आगामी दिनमा अझै परिष्कृत र परिमार्जनसहित क्यारिकेचर बन्ने विश्वास व्यक्त गरे।
कार्टुनिस्ट क्लब अफ नेपालका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर प्रदर्शनीमार्फत समाजका विशिष्ट व्यक्तित्वलाई चिनाउन खोजिएको बताए।
‘नवपुस्ताले यस किसिमका कार्यशाला, प्रदर्शनी तथा कार्यक्रमबाट धेरै सिक्न सक्नु पर्दछ। कला अभ्याससँगै लामो अनुभवबाट पनि सिकिने विधा हो,’ उनले भने।
प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले कार्टुन-क्यारिकेचर कला विधामा महिला कलाकारलाई प्रश्रय दिने उद्देश्यले गत पुस २८\३० गतेसम्म महिला कलाकार सहभागी गराएर क्यारिकेचर कार्यशाला गरेको बताए। उनका अनुसार कार्यशालामा विभिन्न कलेजमा अध्ययन गरिरहेका २३ जना महिला कलाकारले भाग लिएका थिए।
‘कार्टुन कलाभित्र तिखो व्यंग्य हुन्छ। समाजमा घटित अनेकौं घटनालाई सटिक तवरले व्यंग्य गरेर सचेत गराउन कार्टुन बनाइन्छ। कतिलाई तिखो प्रहार पच्दैन, कतिले सहज ढङ्गबाट लिन्छन् तर क्यारिकेचर, कार्टुनभन्दा फरक छ। यो चाहिँ राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशमा ख्यातिप्राप्त व्यक्तित्वलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्दै क्यारिकेचर बनाइन्छ,’ खनाले भने।
प्रतिष्ठान र क्लबले २०७४ सालदेखि नियमित रुपमा क्यारिकेचर प्रदर्शनी गर्दै आइरहेको छ। कोरोना महामारीका समयमा भने भर्चुअल रूपमा प्रदर्शन गरिएको थियो।
क्लबका अध्यक्ष वासु क्षितिजका अनुसार प्रदर्शनीमा ४२ जना कलाकारले बनाएका चार दर्जन बढी क्यारिकेचर राखिएको छ।
नाफा परिसरमा तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा अशोकमान सिंह, अविन श्रेष्ठ, जीवन राजोपाध्याय, वासु क्षितिज, देवेन्द्र थुम्केली, रविन्द्र मानन्धर, केशवराज खनाल, योगेश खपाङ्गी, राजेश मानन्धर, सागर शाह, भानु भट्टराई, महेश बस्ताकोटी, रवि मिश्र, रामकृष्ण थापा, उमेशचन्द्र अधिकारी, दीपक गौतम, सानुराज डंगोल, अकृन अधिकारी, सुजिता महर्जन, रमिला महर्जन, एनबि गुरुङ, पल्पसा मानन्धर, प्रकाश थापा प्रथा, एलिना पोखरेल, असिना भण्डारी, अर्पिता शाक्यले कला, साहित्य, खेलकुद, फिल्म, व्यापार लगायतका क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ।
यस्तै प्रदर्शनीमा वामन चालिसे, विश्व थापा, सुदर्शन सिग्देल, चाँदनी जोशी, दिव्या श्रेष्ठ, ज्योत्सना उदास, कीर्ति तिमिल्सेना, मनरा प्रजापति, निरुपा राजभण्डारी, प्रतिमा चौधरी, रामहरी रिमाल, राजकी अर्याल, सदीश्री थापा, सोना नेपाली, सुश्रीना शाक्य, स्वस्तिका बलामीलगायत कलाकारले बनाएका क्यारिकेचर राखिएको छ।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी