प्रदिप खड्का अभिनित फिल्म ‘प्रकाश’ले नेपालका ६ सहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ।
फिल्मको प्रचारप्रसार गर्न निर्माण टिमले चर्चित कमेडियनहरूको साथमा ‘स्ट्यान्ड अप कमेडी टुर’ गर्न लागेको हो।
असार ३१ गते चितवनको भरतपुरबाट सुरू भई भदौ ५ गते काठमाडौंमा आएपछि टुंगिने छ। निर्माण टिमका अनुसार असार ३१ र ३२ गते चितवनको भरतपुर, साउन ६ र ७ बुटवल, साउन १३ र १४ पोखरा, साउन २० र २१ विराटनगर, साउन २७ र २८ हेटौडामा र भदौ ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रम आयोजना हुनेछ।
भदौ १० गते प्रदर्शनमा आउने फिल्मले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो। ‘टेबल मुनीबाट’ नाम दिइएको प्रमोशनल कार्यक्रममा फिल्मका अभिनेता प्रदिप खड्का र केमेडियनहरू आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन्।
दिनेश राउतले निर्देशन गरेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायत कलाकारको अभिनय छ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।