निर्देशक समुन्द्र भट्टले नयाँ फिल्म ‘गुलाबी’ बनाउने भएकी छन्। यो फिल्ममा अभिनेता नाजिर हुसेन अनुबन्धित भएका छन्।
फिल्ममा नाजिरसँगै विशाल पहाडी पनि अनुबन्धित भइसकेका छन् भने केही कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ।
‘यो फिल्मको लागि नाजिरले कम्तिमा १५ केजी तौल घटाउनु पर्नेछ,’ निर्देशक भट्टले भनिन्, ‘पछिल्लो एक महिनादेखि नाजिर यसको लागि प्रयासरत छन्।’ स्कृप्टअनुसार नाजिरलाई ५० केजी तौलको पात्रमा तयार हुनुपर्नेछ।
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्कृप्टको काम सकिएको छ। भदौ अन्तिममा छायांकनमा जाने तयारी निर्माण टिमको छ। ट्रान्सजेन्डर अर्थात् पारलैंगिक व्यक्तिको कथावस्तुमा आधारित हुने फिल्मलाई आलोक शुक्लाले खिच्नेछन्।
क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले यसअघि ‘आधा पेज’ नामको फिल्म निर्देशन गरेकी थिइन्।