'प्रसाद २' को निर्माण टिम फिल्म छायांकन गर्न दुई साताअघि नै कास्कीको ल्वाङ गाउँ पुगेको थियो तर अहिलेसम्म काम सुरू भएको छैन।
कलाकारहरूले 'मुड नभएको' भन्दै काम गर्न नमानेपछि छायांकन रोकिएको फिल्मका निर्देशक सुदर्शन थापाले बताएका छन्। उनका अनुसार ६० जनाको टिम ल्वाङ गाउँ पुगेको थियो।
यसबारे अभिनेता विपिन कार्कीलाई सोध्दा उनले पारिश्रमिकको कुरा नमिलेपछि सुटिङ रोकिएको जवाफ दिए।
'छायांकनमा जानुअघि केही पारिश्रमिक दिने कुरा थियो तर त्यस्तो भएन। उनीहरूले भोलि भोलि भन्दै टार्न खोजे,' उनले भने, 'पारिश्रमिक दिने-नदिने निश्चित भएन।'
पारिश्रमिकबाहेक फिल्म रोकिनुमा अन्य कारण पनि छन्।
सुरूमा एउटा प्रोडक्सनसँग काम गरेको तर पछि अर्को टिम आउँदा अलमल भएको उनको भनाइ छ।
'मैले आफ्नो भूमिकाबारे बुझ्न खोजेको थिएँ। निर्देशकले सोचेको र मैले सोचेको फरक भयो। केही कुरा सुल्झिन बाँकी छन्। निर्देशकले भने यही कुरालाई सुटिङ रोकिनुको कारण बताउनुभएछ। मैले मेरो भूमिका के हो भनेर थाहा नपाई कसरी अभिनय गर्ने?' कार्कीले भने।
उनले अगाडि भने, 'सुटिङ नभएर धेरै दिनदेखि यत्तिकै बस्नुपरेको छ। निर्देशकहरू काठमाडौं पुगिसक्नुभयो भन्ने खबर पाएँ। म अझै यहीँ छु।'
केशव पाण्डेको निर्माणमा बन्न लागेको यो फिल्म 'प्रसाद' को सिक्वेल हो। प्रसादको निर्देशन दिनेश राउतले गरेका थिए।
'प्रसाद २' लकडाउनअघि नै बनाउने भनिएको थियो। त्यति बेला सौरभ चौधरीले निर्देशन गर्ने कुरा थियो। छायांकनमा जानुअघि निर्देशकका रूपमा सुदर्शन थापा भित्रिए। फिल्मका लेखक सुशील पौडेल हुन्।