रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’ले बक्स अफिसमा ५१ औं दिन मनाएको छ।
यो फिल्मले घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राख्दै शनिबार ५१ दिन पार गरेको हो।
वितरक गोविन्द शाहीका अनुसार फिल्मले ५१ औं दिन पार गर्दा २५ करोडभन्दा बढी व्यापार गरेको छ।
‘धेरैपछि कबड्डी ४ ले ५१ दिन मनाउँदा एकदमै खुशी लागेको छ। यो कबड्डी ४ को लागि मात्र नभई नेपाली फिल्म उद्योगको लागि नै राम्रो कुरा हो। हामी सधैं विदेशी फिल्म भन्छौं, खासमा राम्रो फिल्म बनायो भने विदेशी फिल्मसँग डराउनु पर्ने रहेनछ। राम्रो फिल्म बनाएपछि राम्रो चल्छ। मेकिङ र स्टोरीमा ध्यान दियो भने राम्रो बन्छ,’ वितरक शाहीले सेतोपाटीसँग भने।
जेठ १३ गतेदेखि प्रदर्शन भइरहेको फिल्म अहिले पनि काठमाडौंका मल्टिप्लेक्समा चलिरहेको छ। नेपालमा मात्र नभई फिल्मले विदेशी बजारमा पनि नयाँ-नयाँ रेकर्ड राखेको छ।
कोरोना महामारीपछि 'कबड्डी ४' ले बक्स अफिसमा ५१ दिन प्रदर्शन हुने फिल्मको रेकर्ड राखेको हो। कोरोना महामारीअघि ‘ए मेरो हजुर ३’ र ‘छक्का पन्जा ३’ ले ५१ दिन पार गरेका थिए।
समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायत कलाकारको अभिनय छ।
बाँसुरी फिल्म्स् र सुष्मा प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ।
फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।