नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म 'सहायक श्रीमान' (को-हज्ब्यान्ड) अमेरिका र भारतको चलचित्र महोत्सवमा छनौट भएको छ।
अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित आठौं कब इन्टरनेशनल फिल्म फेस्टिबलमा ‘को-हज्ब्यान्ड’ छानौट भएको निर्देशक गणेश पाण्डेले जानकारी दिए। उनका अनुसार यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा उनको बहुचर्चित डकुमेन्ट्री 'भाग्यले बाँचेकाहरू' (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो।
यसैगरी, आगामी अगष्ट ३ देखि ६ सम्म भारतको कलकत्तामा आयोजित साउथ एसिशन सर्ट फिल्म फेस्टिबलमा पनि ‘को-हज्ब्यान्ड’ छनौट भएको हो। आयोजक प्रेमेन्द्र मजुमदारका अनुसार कत्तकत्तामा चलचित्र महोत्सव उद्घाटनकै दिन ‘को-हज्ब्यान्ड’ प्रदर्शन हुँदैछ।
काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिबलबाट यात्रा आरम्भ गरेको ‘को-हज्ब्यान्ड’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एक हजार डलरसहित उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको थियो। यसैगरी, नेपालमै आयोजित नेपाल-अफ्रिका चलचित्र महोत्सव, भारतको सिम्ला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र रसियामा आयोजित अन्तर्राष्ट्रिय कान्स भिडिओ फेस्टिबलमा सर्वोत्कृष्ट पुरस्कार 'ग्राण्ड प्रिक्स अवार्ड' जितेको थियो।
विश्वका एक दर्जन बढी चलचित्र महोत्सवमा छनौट भइसकेको ‘को-हज्ब्यान्ड’ले स्लोभाकियाको पोपरोडमा आयोजित प्रतिष्ठित २९ औं इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस् पोपराडमा अनरेवल मेन्सन अवार्ड जितेको थियो।
'नेपाली डकुमेन्ट्री विभिन्न देशका फिल्मबीचको प्रतिस्पर्धामा छनौट भई अवार्ड जित्नु आफैमा गर्वको कुरा हो। कोरोना महामारीका कारण संसारभरका चलचित्र महोत्सव स्थगित भएकाले यसको असर को-हज्ब्यान्डको अन्तर्राष्ट्रिय यात्रामा पनि परेको थियो। आशा छ, यसपालि अमेरिका र भारतमा दर्शकबाट साथ मिल्नेछ,' निर्देशक पाण्डेले भने।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्।
हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ। निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र अध्ययनबाट सहायक श्रीमान निर्माण गरेका हुन्। साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन्।
यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म 'भाग्यले बाँचेकाहरू'ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो।