इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा दुई वटा रियालिटी शो आयोजना हुने भएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स' आयोजना गर्न लागिएको जानकारी दिए।
विश्वभर छरिएर रहेका नेपाली भाषीहरूको सहभागीतामा यो शो आयोजना गरिनेछ। 'मेरो भ्वाइस युनिभर्स'का विजेताले ७५ हजार डलर (९६ लाख १४ हजार २७२ नेपाली रूपैयाँ) पुरस्कार पाउनेछन्। फर्स्ट रनरअपले २५ हजार (३२ लाख ४ हजार ७५७ नेपाली रूपैयाँ) र सेकेन्ड रनरअपले १० हजार डलर (१२ लाख ८१ हजार ९०३ नेपाली रूपैयाँ) पुरस्कार पाउनेछन्।
यस्तै 'मेरो डान्स युनिभर्स'को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन्। यो शोको फर्स्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन्।
‘यो कार्यक्रम आयोजना गरेर हामीलाई कुनै पनि नाफा कमाउनु छैन। विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एक सूत्रमा बाँध्ने र उनीहरुलाई नेपाली भाषाको बारेमा सधैं नै सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो,’ कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारी भने।
यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन्। अगस्ट महिनादेखि सुरू हुने अडिसन डिसेम्बर ३१ सम्म जारी रहनेछ।
जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ। अध्यक्ष अधिकारीका अनुसार नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ। यस्तै, क्यानडा र अमेरिकामा भने १/१ स्थानमा अडिसन गरिनेछ। यी बाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने बताइएको छ।
कार्यक्रममा कलाकार निर शाह, भुवन केसी, निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, अभिनेत्री प्रियंका कार्की, कुमार कार्की, दुर्गाप्रसाद पाण्डे, ज्ञानेन्द्रराज देवकोटा, माधव खरेल, किरण केसी, गायक पुष्पन प्रधान, शिव परियारलगायत उपस्थित थिए।
इन्ट्रा फाउन्डेशनले अहिले 'मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसए' आयोजना गरिरहेको छ।