अभिनेत्री मिरुना मगर र गायिका स्मिता दाहालले लण्डनको विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन्।
अभिनेत्री मिरुनाले लण्डनको ब्रनेल विश्वविद्यालयबाट ब्रनेल गोल्ड अवार्ड समेत जितेकी छन्। उनले बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी हुन्।
अभिनेत्री मिरुनाले सामाजिक सञ्जालमार्फत स्नातकोत्तर उत्तीर्ण गरेको खुशी साटेकी छन्।
‘धेरै बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गर्न पाउँदा, ब्रनेल गोल्ड अवार्ड प्राप्त गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पनि सम्पन्न गर्न पाउँदा आफूप्रति गर्व लागिरहेको छ। धेरै निद्रारहित रातहरु, लकडाउनका शून्यताहरू र अनगिन्ती ब्रेकडाउनहरूबीच यो उपलब्धि हासिल भएको छु। यो सहयोग र समर्थनको लागि मेरो परिवार र साथीहरूलाई धन्यवाद नदिइरहन सक्दिनँ। मेरो जीवनमा उनीहरूलाई पाएकोमा धन्य र कृतज्ञ छु,’ उनले लेखेकी छन्।
त्यस्तै, गायिका स्मिता दाहालले लन्डनको विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्।
उनी उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन्। त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बिबिएको पढाइ सकेकी हुन्।
छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकामा आमा गंगा दाहालले सामाजिक सञ्जालमार्फत बधाई दिएकी छन्। उनले उच्च अंकका साथ स्नातकोत्तर पास गरेको उल्लेख गरेकी छन्।
स्मिता प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी छोरी हुन्।