लोकगायक कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा 'कल्याण शेरचन स्मृति प्रतिष्ठान'ले 'राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता' आयोजना गर्ने भएको छ।
यही साउन १२ गते शेरचनको ७६ औं जन्मजयन्तीको अवसर पारेर पोखरा सभागृहमा तीन दिने दोहोरी गीत प्रतियोगिता हुन लागेको हो।
बिहीबार काठमाडौंस्थित इन्द्रेणी कार्यक्रमको स्टुडियोमा पत्रकार सम्मेलन गर्दै मोफसलको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता गर्न लागिएको आयोजकले जानकारी दिए।
प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ 'ह्योल्मो'ले पोखरामा प्रतिमा स्थापना गर्ने मूल उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताए।
'प्रतियोगिता सम्पन्न गर्नासाथ प्रतिमा निर्माणको कार्य थालनी गर्नेछौं। त्यसपश्चात पोखरामा लोकबाजाहरूको संग्रहालय निर्माण गर्ने हाम्रो उद्देश्य छ,' उनले भने।
प्रतियोगिताका लागि गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रतिष्ठान मातहतका प्रदेश र जिल्ला शाखाहरू, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराको सहकार्य रहेको छ।
प्रतियोगितामा प्रथम हुने समूहले ६ लाख नगद पुरस्कार पाउनेछन्। द्वितिय, तृतिय र सान्त्वना हुने समूहलाई क्रमश: ४ लाख, २ लाख र १ लाख रुपैयाँ नगद प्रदान गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट गायक-गायिकालाई ५०/५० हजार रुपैयाँ र अनुशाशित समूहलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
कार्यक्रम संयोजक तथा आयोजक संस्थाका सचिव जिवन दाहालले नाङ्लोमा राखेर नगद पुरस्कार प्रदान गरिने र ट्याक्स प्रतिष्ठानले छुट्टै तिर्ने जानकारी दिए।
प्रतियोगितामा एक महिला र एक पुरुष गरी दुई-दुई जनाको समूह रहने बताउँदै समूह दर्ताका लागि २ हजार रुपैयाँ तोकिएको दाहालले जानकारी गराए। प्रतियोगितामा प्रवेश शुल्क भने लाग्ने छैन।
प्रतियोगितामा ५५ लाख आम्दानी र ३९ लाख रुपैयाँ खर्च हुने अपेक्षा आयोजकको छ। बचत रकमबाट स्वर्गीय शेरचनको प्रतिमा स्थापना गरिने कल्याण शेरचन स्मृति प्रतिष्ठानको भनाइ छ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीको संयोजकत्वमा निर्णायक मण्डल रहनेछ। कार्यक्रममा बोल्दै बिजीले पोखरामा भव्य दोहोरी गीत प्रतियोगिता आयोजना गर्ने र देशभरका प्रतिभाहरुलाई मञ्च दिने स्वर्गीय शेरचनकै सपना मध्येको एउटा सपना रहेको र सोही सपना पूरा गर्न लागिएको बताए।
प्रतियोगितामा लोकदोहोरी तथा फिल्म क्षेत्रमा योगदान पुर्याएको भन्दै लोकगायक तथा फिल्म निर्देशक नारायण रायमाझीलाई सम्मान गरिने र शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै योगेन्द्रबहादुर बस्नेतलाई मरणोपरान्त सम्मान गरिने बताइएकाे छ।
विसं २००३ साल साउन १२ गते पोखराको रानीपौवामा जन्मिएका स्वर्गीय लोकगायक शेरचनले ग्रामीण कुना कन्दरामा गाइने नेपालीपन बोकेका मौलिक लय एवम् भाकालाई संकलन गरेर कालजयी बजाउनमा महत्वपूर्ण योगदान दिएका छन्। 'सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ, कलिलो तामालाई सोध रामलाई, काली पनि देखेँ मैले गोरी पनि देखेँ'लगायत उनका दर्जनौं गीतहरू लोकप्रिय छन्।
विसं २०६७ साल माघ २४ गते शेरचनको निधन भएको थियो। त्यसपश्चात उनको स्मृतिमा 'कल्याण शेरचन स्मृति प्रतिष्ठान'को स्थापना गरिएको थियो।