दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्का पन्जा ४' शुभमुहूर्त गर्दै छायांकन सुरू गरिएको छ।
सोमबार भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो। आमा सरस्वती मुभिजको निर्माण हुने 'छक्का पन्जा ४' को शुभमुहूर्तमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, राज आचार्यलगायत उपस्थित थिए।
फिल्ममा दीपक, दीपा, बेनिशा, मलिना र राजसँगै केदारप्रसाद घिमिरे 'माग्ने बुढा', बुद्धि तामाङ, परीक्षा लिम्बु, लुनिभा तुलाधर, सुष्मा निरौला, विकास शाह, रमेश बुढाथोकी, सुवास गजुरेल, अनुराग कुँवरलगायत कलाकारको अभिनय रहने छ।
केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्। यो फिल्म दशैंको अवसर पारेर प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।
‘हाम्रो हरेक वर्ष फिल्ममार्फत भेट हुन्थ्यो। कोरोना महामारीको कारण केही समय ग्याप भयौं। तीन वर्षपछि फिल्म लिएर दर्शकमाझ आउँदै छौं। पहिलाभन्दा हाम्रो टिममा केही परिवर्तन भएको छ। धेरै परिवर्तन भएको भने होइन,’ दीपकराज गिरीले भने।
केही समयअघि दीपक र दीपाको टिमले फिल्म 'माग्ने राजा' बनाउने चर्चा थियो। तर दीपकले चलचित्र विकास बोर्डमा नाम मात्र दर्ता गरेको बताए।
'हामीले स्क्रिप्टमा मात्र काम गरिरहेका थियौं। कुन फिल्म बनाउने निश्चित थिएन। हामी तीन/चार वर्षपछि हलमा फर्किन लागेका छौं। त्यसमाथि छक्का पन्जा सिरिजको धेरै ग्याप भइसक्यो। दर्शकहरूले छक्का पन्जाको सिरिज नै हेर्न रुचाउनु हुन्छ होला भनेर छक्का पन्जा ४ बनाउने निर्णय लिएका हौं,' उनले भने। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।
यो फिल्मलाई हेमराज विसीले निर्देशन गर्दैछन्। छक्का पन्जाको अघिल्ला सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएकी थिइन्।