तेजाब आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक फिल्म 'मुस्कान' मा पूर्वप्रधानमन्त्री माधव नेपाल र वन तथा वातावरणमन्त्री प्रदीप यादव देखिने भएका छन्।
रमित ढुंगानाले निर्देशन गर्ने फिल्ममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि देखिने छन्।
'जति बेला मुस्कानमाथि तेजाब आक्रमण भयो, त्यति बेला उनलाई जसले सहयोग गरे, उहाँहरूलाई फिल्ममा समेट्ने प्रयास गरेका हौं। तेजाब प्रहार हुनेबित्तिकै प्रदीप यादवले ठूलो भूमिका निर्वाह गर्नुभएको रहेछ। यस्तो अन्य धेरै पात्रहरूलाई पनि फिल्ममा समेट्ने छौं,' अभिनेता रमित ढुंगानाले सेतोपाटीसँग भने, 'उहाँहरूसँग कुराकानी गर्दा हुन्छ भन्नुभएको छ। प्रदीपजीले त फिल्मको स्क्रिप्टका लागि पनि सहयोग गर्नुभएको छ।'
'मैले मुस्कानका लागि बुद्ध वाज बर्न इन नेपालको च्यारिटी शो गरेको थिएँ। त्यो शोमा जति पनि पैसा उठ्यो सबै मुस्कानलाई दिइने भनेर गरिएको थियो। शोका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्थ्यो। यसरी उहाँ पनि फिल्ममा जोडिनुभएको हो,' उनले भने।
यो फिल्ममा मुस्कान खातुनकै भूमिका रहने उनले बताए।
'फिल्ममा मुस्कानमाथि तेजाब प्रहार हुँदाको क्षणलाई पनि समेट्ने कुरा भइरहेको छ। मुस्कानको भूमिकालाई अरू पात्रले न्याय गर्न सक्दैनन्। उनले भोगेको कुरा उनले नै राम्रोसँग प्रस्तुत गर्न सक्छिन् जस्तो लाग्छ। हामीले मुस्कानको अडिसन पनि लिएका थियौं। उनले राम्रो अभिनय गर्ने रहिछिन्,' उनले भने।
यो फिल्मको छायांकन साउन अन्तिमदेखि सुरू हुनेछ।
सन् २०१९ मा मुस्कान १४ वर्षकी हुँदा तेजाब आक्रमणमा परेकी थिइन्।