गीतकार डिआर उपाध्यायले नेपालीसहित ५० भाषामा 'ढुकढुकीभित्र तिम्रो' बाेलकाे गीत सार्वजनिक गरेर विश्व रेकर्ड राखेका छन्।
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाणपत्र प्रदान गरिएको हो। उनलाई सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, 'डा. उपाध्यायको अद्भूत क्षमता छ। उनले अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन योगदान दिएका छन्। यसको उचित सम्मान र कदर गर्नुपर्छ।'
उपाध्यायले लेखेको 'ढुकढुकीभित्र तिम्रो' बोलको नेपाली भाषाकाे गीतमा सन्ताेष श्रेष्ठकाे स्वर तथा संगीत भने हिन्दीमा डिआरको र अन्यमा प्रकाश तिम्लिसिनाकोे स्वर रहेको छ।
गीत नेपालीसहित हिन्दी, जापानी, चिनिया, अंग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ।
उक्त अवसरमा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’ को विश्व कीर्तिमानको प्रमाणपत्र पनि डा. उपाध्यायलाई प्रदान गरिएको थियो। यसअघि गीत संगीत तथा विविध विधामा १०८ विश्व कीर्तिमान कायम गरेका उपाध्यायको कीर्तिमान ११० पुगेको छ।
कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार कुबेर गिरी, तुलसी गिरी, कृष्ण भुषाल, गीता अधिकारी लगायतले ५० भाषामा गीतमा निर्वाह गरेको भूमिकामार्फत विश्व रेकर्डको प्रमाणपत्र प्राप्त गरेका थिए।
उपाध्यायका २८ एल्बम र दर्जन बढी उपन्यास प्रकाशित छन्।