भगवान् शिवलाई गलत रूपमा प्रयोग गरेको भन्दै आलोचना भएपछि निर्देशक केदारप्रसाद घिमिरे 'माग्ने बुढा'ले मागे माफी मागेका छन्।
टेलिभिजन शो 'कमेडी हब' काे १० औं भागको ट्रेलरमा भगवान् शिवलाई युवतीसँग मस्किएको देखाइएको थियो। ट्रेलर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेकाे छ।
आलोचना भएपछि निर्देशक घिमिरेले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्। उनले कमेडी हबबाट शिवकाे दृश्य हटाएको बताएका छन्।
'हामीले मिडिया हबमार्फत निर्माण र प्रसारण गर्दै आइरहेको ‘कमेडी हब’ कार्यक्रमको एक प्रस्तुतीमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषयवस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरूले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ। अन्जानमा हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्युहरू समक्ष क्षमा माग्दछौं। साथै हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरूको सल्लाह र परामर्श बमोजिम यो विषयवस्तुलाई युट्युब, टिकटक र फेसबुक सबैबाट हटाइसकेका छौं,' उनले लेखेका छन्।
कार्यक्रममा केदारप्रसाद घिमिरेसँगै राजा राजेन्द्र, 'कमेडी च्याम्पियन सिजन १' का विजेता हिमेश पन्त, कमेडियनहरू खड्गबहादुर पुन मगर (खबपु), चन्चल मगर, सुबोध गौतम, प्रभात लामा, दिलिप तामाङ (हुर्हुर), बेदना राई, सिता न्यौपाने, जानुका पौड्याल (प्याकुली), राधिका कँडेल, दिपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली (लट्टे), कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडी कला प्रस्तुत गरिरहेका छन्।