सानैदेखि नाटक खेल्न रूचाउँथिन् मलिका महत। चार कक्षा पढ्दै स्कुलमा 'मधु मालती' नामक नाटक खेल्ने अवसर पनि पाएकी थिइन्।
पहिलो नाटकबाटै आफूलाई अभिनयमा रूचि भएको थाहा पाइसकेकी थिइन् उनले। कसैले केमा रूचि छ भनेर सोध्यो भने फ्याट्टै भनिहाल्थिन्- अभिनय।
उनी सकभर स्कुल-कलेजमा हुने नाटक छुटाउँथिनन्। यति हुँदा पनि उनले फिल्ममा अभिनय गरूँला भनेर सोचेकी थिइनन्।
कक्षा १२ पढ्दै गर्दा एक दिन उनलाई फिल्म 'यात्रा' मा अभिनयको प्रस्ताव आयो। त्यति बेला उनले कलेजमा भएको नाटक 'मनचिन्ते फिरन्ते' खेलेकी थिइन्। सामाजिक सञ्जालहरूमा पनि सक्रिय भइन्।
'मैले इन्स्टाग्राममा आफ्नो फोटाहरू राख्न थालेकी थिएँ। त्यति बेलै मलाई एउटा इमेल आयो। इमेलमा फिल्मका बारेमा लेखिएको थियो र उहाँहरूले मसँग भेट्न खोज्नुभएको थियो,' उनले आफूलाई पहिलो फिल्मको प्रस्ताव आउँदाको समय सम्झिँदै भनिन्।
सुरूमा त उनलाई फिल्म खेल्ने प्रस्ताव आउँदा पत्यार नै लागेन। कसैले झुक्याएको पो हो कि भन्ने लाग्यो। वा कसैले ठगी गर्न खोजेको हो कि भन्ने डर पनि मनमा पस्यो। त्यसैले उनले तत्काल त्यो इमेलको जवाफ फर्काइनन्।
'पछि के रहेछ भनेर बुझ्न मन लाग्यो। इमेलमा फोन नम्बर पनि थियो। फोन गरेर बुझेँ,' उनले सुनाइन्।
उनका अनुसार फिल्म टोलीले एकपटक भेटेर कथा सुनाउने प्रस्ताव गरे। मलिकालाई फिल्मको कथा र आफूले निर्वाह गर्ने भूमिका, दुवै मनपर्यो। तीन दिन अडिसन दिइन्। अनि आफ्नो करिअरको पहिलो फिल्म 'यात्रा' का लागि छनौट भइन्।
'तीन दिन अडिसन दिएपछि उहाँहरूले फोन गरेर छनोट भएको कुरा सुनाउनुभयो,' मलिकाले भनिन्, 'तर मलाई विश्वास गर्नै गाह्रो भयो। आमाबुबालाई सुनाउँदा पनि होइन होला भन्नुभयो।'
'यात्रा' मा उनले राम्रो सम्भावना देखाइन्। अभिनेता शलिनमान बानियाँको साथमा देखिएकी थिइन्। तर फिल्म बक्स अफिसमा औसत भयो।
फिल्ममा आउनुअघि उनले केही म्युजिक भिडिओमा अभिनय गरेकी थिइन्। त्यति सफल भएका थिएनन्। तर फिल्म 'यात्रा' र ती भिडिओहरू उनको पछिको बाटो कोर्न सहयोगी बने।
'यात्रा' पछि उनले थुप्रै म्युजिक भिडिओमा काम गरिन्। यसमा सबभन्दा धेरै चर्चा भने मिलन नेवाको स्वरमा रहेको 'फूलबुट्टे सारी' बाट पाइन्। यो गीतबाट उनले नसोचेकै सफलता हात पारिन्।
'यो गीत कालिञ्चोकमा छायांकन भएको थियो। त्यहाँको मौसम यति चिसो थियो कि मैले कस्तो हाउभाउ दिइरहेको छु भन्ने समेत थाहा भएन,' उनले भनिन्।
चिसो मौसममा छायांकन गरिएको गीत र मलिकाले दर्शकको न्यानो साथ पाए।
त्यसपछि मलिका 'आखाँमा आउने सपनी', 'तिम्रो मनमा ए कान्छा', 'टाढा भए पनि' लगायत गीतमा देखिइन्। यी पनि सफल भए। म्युजिक भिडिओबाटै उनले दर्शकको माया पाइन्।
अब यही माया उनले नयाँ फिल्म 'पानीफोटो' बाट आश गरेकी छन्। शुक्रबारबाट हलमा लागिरहेको खगेन्द्र लामिछाने निर्देशित 'पानीफोटो' मा अनुप बराल, मेनुका प्रधान र खगेन्द्र लामिछानेसँगै मलिकाको पनि मुख्य भूमिका छ। उनले राधा पात्रको भूमिका निर्वाह गरेकी छन्।
'खगेन्द्र दाइ र टिमले फिल्म राम्रो बनाउन निकै मेहनत गर्नुभएको छ। फिल्मले व्यावसायिक सफलता हासिल गर्छ किन गर्दैन भन्ने आफ्नो ठाउँमा छ। तर जसले फिल्म हेर्नुहुन्छ उहाँहरूले मन पराउनुहुन्छ भन्ने विश्वास छ,' उनले भनिन्।
'पानीफोटो' पहिले नाटकका रूपमा मञ्चन भइसकेको छ। यो नाटकबारे मलिका पनि जानकार थिइन्। आफूलाई पनि नाटकमा रूचि भएकाले खगेन्द्रको टिमसँग आकर्षित भएको उनी बताउँछिन्।
भनिन्, 'यो टिमसँग काम गर्ने प्रस्ताव आउँदा एकदमै खुसी भएँ।'
पछिल्लो समय मलिकालाई एउटा सस्पेन्स थ्रिलर फिल्मको प्रस्ताव आएको छ। उनी यो फिल्म खेल्न उत्साहित छिन्। 'यात्रा' फिल्मबाट प्रवेश गरेकी उनी अब आफ्नो फिल्मी यात्रा अगाडि बढाउन कस्सिएकी छन्।
'म धेरै कुरामा पोख्त छैन तर मनदेखि गर्ने अभिनय नै हो। सुधार गर्नु पर्ने कुरा धेरै छन् तर म अभिनयमा निरन्तरता दिन्छु। कति समयसम्म काम गर्न सक्छु, त्यो समयले बताउला,' उनले भनिन्।
हेर्नुहोस् मलिका महतसँगको कुराकानी भिडिओमाः