पोखरामा आयोजना गरिएको 'राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता'मा नगरकोट दोहोरी साँझ काठमाडौं विजयी भएको छ।
सोमबार भएको फाइनल प्रतिस्पर्धामा दरबार दोहोरी साँझ काठमाडौंलाई हराउँदै नगरकोट दोहारी साँझ काठमाडौंले उपाधि जितेको हो।
प्रतियोगितामा विजता घोषित भएसँगै नगरकोट दोहोरी साँझले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता दरबार दोहोरी साँझले ४ लाख नगद पुरस्कार प्राप्त गरेको छ।
जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलियाले तेस्रो स्थानमा ओगटेका छन्। दुवै टिमले बराबर अंक प्राप्त गरेपछि तेस्रो स्थान ओगटेका हुन्। प्रतियोगिता संयोजक जीवन दाहालका अनुसार तृतीय हुन सफल दुई समूहले डेढ-डेढ लाख नगद पुरस्कार हात पारेको छन्।
गत साउन १२ गतेबाट पोखरा सभागृह हलमा आयोजित प्रतियोगिता पाँचौं दिनमा सोमबार सम्पन्न भएको हो। दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का उत्कृष्ट गायक घोषित भए भने उत्कृष्ट गायिका पनि प्रतिष्ठान गण्डकीकी सीता परियार घोषित भइन्।
यसैगरी अनुशासित टिम धौलागिरी दोहोरो साँझ ओसाका जापान बन्न सफल भयो। नव प्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझकी शान्ति कार्कीले प्राप्त गरिन्।
उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । नव-प्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई १० हजार रुपैयाँ प्रदान गरियो ।
यो प्रतियोगितामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीलाई थियो। कल्याण शेरचन स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा कुल ४५ टिमको सहभागिता रहेको थियो।
गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगिताको प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको थियोे।
लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीका अवसर पारेर यो कार्यक्रम आयोजना गरिएका हो। २००३ साल श्रावण १२ गते पोखरामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो।